जनकपुरधाम, फागुन १९ गते । धनुषा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार तथा नेपाली कांग्रेसका तत्कालीन सह–महामन्त्री यादवले महेन्द्र यादवले संघीयता र संविधानको पक्षधर शक्तिलाई साथ दिन मतदातासँग आग्रह गरेका छन्। उनले यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई परिवर्तनको लडाइँ भएको बताएका छन्।
निर्वाचन प्रचार–प्रसारको अन्तिम चरणमा मिथिला नगरपालिका ८ र १० तथा जनकपुरधाम १४ मा आयाेजित घरदैलाे तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “यो संघीयता तथा संविधान जोगाउने र देशलाई अस्थिरतातर्फ धकेल्ने प्रवृत्तिबीचको प्रतिस्पर्धा हो।
जनताले खतरामा परेको संविधान र संघीय व्यवस्थाको रक्षा गर्न नेपाली कांग्रेसलाई मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु।” उनका अनुसार वर्तमान राजनीतिक परिस्थिति संवेदनशील मोडमा पुगेको छ। संघीय संरचना, समावेशी व्यवस्था र प्राप्त उपलब्धि जोगाउन स्थिर र जिम्मेवार शक्ति आवश्यक रहेको उनले उल्लेख गरे।
“संविधान कार्यान्वयन, विकासको निरन्तरता र लोकतान्त्रिक मूल्यमान्यता जोगाउन कांग्रेस नै भरोसायोग्य विकल्प हो,” यादवले भने।

प्रचार–प्रसारको अन्तिम दिन उनले धनुषा–४ का विभिन्न गाउँ तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरे। स्थानीय युवाहरू, महिला समूह तथा ज्येष्ठ नागरिकसँग छलफल गर्दै उनले कांग्रेसको प्रतिबद्धता पत्रका मुख्य बुँदाहरू प्रस्तुत गरे।
कांग्रेसको प्रतिबद्धता पत्रमा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, साना तथा मध्यम उद्यम प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवामा सुधार, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।
यादवले धनुषा–४ मा सिंचाइ सुविधा विस्तार, सडक स्तरोन्नति, शिक्षण संस्थाको सुदृढीकरण र स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउने प्रतिबद्धता दोहोर्याए। “हामी विकासलाई कागजमा होइन, व्यवहारमा उतार्नेछौं,” उनले भने, “संघीयताको मर्मअनुसार स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने नीति अवलम्बन गरिनेछ।”

स्थानीय बासिन्दाहरूले पनि संघीय व्यवस्था जोगाउने पक्षमा मतदान गर्ने धारणा व्यक्त गरेका छन्। स्थानीय किसान रामउदित यादवले भने, “हामीले संघीयता पाउन धेरै संघर्ष गरेका हौं। अब यसलाई कमजोर बनाउने शक्तिलाई होइन, जोगाउने पक्षलाई मत दिनुपर्छ।”
त्यस्तै, एक महिला मतदाता सीता देवीले भनिन्, “संविधानले दिएका अधिकार सुरक्षित रहून् भन्ने चाहना छ। स्थिर सरकार र विकास चाहिन्छ।”
प्रचार–प्रसारको अन्तिम दिनसम्म उत्साहजनक सहभागिता देखिएको कांग्रेस कार्यकर्ताहरूले बताएका छन्। घरदैलो अभियान, कोणसभा र मतदाता भेटघाटमार्फत कांग्रेसले आफ्नो एजेन्डा जनतामाझ स्पष्ट रूपमा पुर्याएको दाबी गरिएको छ।
यादवले अन्त्यमा मतदातासँग लोकतन्त्र, संविधान र संघीयता जोगाउन सही निर्णय गर्न आग्रह गर्दै भने, “यो मतदान केवल प्रतिनिधि चयन गर्ने अवसर होइन, भविष्य सुरक्षित गर्ने अवसर हो।”

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !