जनकपुरधाम, चैत २४ गते । कोरोना भाइरसबाट संक्रमितको आशंकामा धनुषाका एक वडाध्यक्ष क्वारेन्टाइनमा भर्ना गरिएको छ ।
छिमेकी मुलुक भारतबाट फर्केपछि कोरोना भाइरसको आशंकामा जनकनन्दनी गाउँपालिका २ का वडाध्यक्ष भोगेन्द्र पाठक क्वारेन्टाइनमा भर्ना गरिएको हो ।

भारतको मधुवनीबाट आइतवार दिउँसो उनी घर फर्केपछि कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि स्थानीय त्रसित बनेका थिए । स्थानीयले पटक पटक आग्रह गर्दा पनि उनी क्वारेन्टाईनमा भर्ना हुन चाहेन ।
स्थानीयको कुरा नमानेपछि इलाका प्रहरी कार्यालय खजुरीमा स्थानीयले वडाध्यक्ष पाठक भारतबाट आएको र कोरोना भाइरसको लक्षण देखिएको भनी जानकारी गराएको थियो । त्यसपछि त्यहाँका प्रहरी निरीक्षक देवेन्द्र रोकायाले उनलाई क्वारेन्टाइनमा राख्नुपर्ने विषयमा गाउँपालिका प्रमुखसँग छलफल गरेका थिए ।
स्रोतका अनुसार जनप्रतिनिधिहरुले उनलाई क्वारेन्टाइनमा राख्ने विषयमा सहमति जनाएनन् । तर स्थानीयको दबावपछि सोमबार विहान वडाध्यक्ष पाठकलाई प्रहरी निरीक्षक रोकायाले क्वारेन्टाइनमा बस्न सुझाव दिएपछ उनी क्वारेन्टाईनमा बस्न मानेका हुन ।
हाल उनी जनकनन्दनी गाउँपालिका–४ स्थित उच्चमाध्यमिक विद्यालय खजुरीमा स्थापना गरिएको क्वारेन्टाइनमा भर्ना भएका छन् । वडाध्यक्षसँगै उक्त क्वारेन्टाइनमा भर्ना हुनेको संख्या ९ पुगेको छ । त्यहाँ २० वेड भएको क्वारेन्टाइन निर्माण गाउँपालिकाले गरेको छ ।

क्वारेन्टाइनमा वडाध्यक्ष बाहेक ८ जना खाडी मुलु्क र भारतबाट फर्केकाहरु छन् । भर्ना भएका सबैका लागि गाउँपालिकाले खाना र अन्य व्यवस्थापन मिलाएको जनकनन्दनी गाउँपालिकाका फोकल पर्सन अयोधी दासले जानकारी दिएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !