जनकपुरधाम, पुस २ गते ।
समान्यतः मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई ब्लड प्रेसर (रक्तचाप) भन्ने गरिन्छ ।
स्वस्थ्य शरीरको लागि रक्तचाप १२०/८० मिलिमिटर अफ मर्करी हुनुपर्छ । अर्थात मुटुको माथिल्लो चाप १२० र तल्लो चाप ८० हुनु भनेको उत्तम रक्तचाप हो ।
यो भन्दा घटयो भने लो ब्लड प्रेसर र बढेमा हाई ब्लड प्रेसर (उच्च रक्तचाप) हुन जान्छ, हाई र लो दुवै मानिसका लागि हानीकारक हो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्का सय करोड भन्दा बढी मानिसहरुको रक्तचाप अनियन्त्रित छ । रक्तचापमा नियन्त्रण नभएको कारण मृत्यु हुने मानिसको संख्या बढी रहेको छ ।
सो तथ्यांक अनुसार मृत्यु हुनेमा बढी हाई ब्लड प्रेसरबाट पिडीत नै हुन । हाई ब्लडप्रेसर आफैँमा समस्या होइन । यसलाई वेवास्ता गर्दा भने खतरा निम्तिन्छ । हाई ब्लड प्रेसरलाई वेवास्ता गर्ने समस्या विश्वभर नै छ । त,र यो संख्या नेपालजस्ता देशमा झन् बढी छ ।
विकसित देशका करिब ९० प्रतिशत मानिसहरुले यसको औषधिलाई स्विकार गरेका छन् । तर, नेपालमा भने अझै पनि ५० प्रतिशतले यसको औषधि सेवनमा आनाकानी गर्दै आइरहेका छन् ।
रक्तचापको समस्याबाट छुटकारा पाउन सजिलो छ । यसका लागि मानिसहरुले तीनटा कुरामा अनिवार्य रुपमा जोड दिनुपर्ने हुन्छ । त्यो भनेको रक्तचापको पहिचान, नियन्त्रण र रोकथाम हो । यसलाई मुल मन्त्र वा सुत्र मान्ने व्यक्तिले रक्तचापलाई सहजै नियन्त्रणमा लिई समस्याबाट छुटकारा पाउन सक्छ ।
तथ्यांक अनुसार मुटुरोगले हुने मृत्युको ४५ प्रतिशत र मस्तिष्कघातले हुने मृत्युको ५१ प्रतिशत मानिस वर्षेनी उच्च रक्तचापको जोखिमले असामयिक मृत्युको शिकार हुने गरेका छन् । विश्वका २५ वर्षमाथिका ४० प्रतिशत र १८ वर्ष माथिका २२ प्रतिशतमा उच्च रक्तचाप रहेको पाइएको छ ।
नेपालमा विभिन्न अध्ययनहरुको आधारमा हेर्दा लगभग ३० प्रतिशत वयस्कमा उच्च रक्तचाप भएको पाइन्छ । काठमाडौंमा नै गरिएको अध्ययनमा पहिलादेखी थाहा नभएका ३० प्रतिशत वयस्कमा उच्च रक्तचापको अवस्था फेला परेको थियो । यो संख्या वर्षेनी बढ्दै गइरहेको छ ।
समस्याबाट मुक्ति कसरी पाउने ?
सबैभन्दा पहिला त उच्च रक्तचापको पहिचान गर्नु परयो । यसको कुनै आधारभूत लक्षण छैन । लक्षण नै नभएका कारण मानिसहरुलाई आफ्नो रक्तचाप माथि चढेको थाहा हुँदैन । उच्च रक्तचापले कुन दिन हृदयाघात गराउँछ, मस्तिष्कघात गराउँछ वा मिर्गौला फेल हुन्छ भनेर पर्खेर बस्ने होइन । नियमित रुपमा ब्लड प्रेसर चेक गराउनुपर्छ ।
कहिले–कहिले रक्तचाप जाँच्ने ?

रक्तचापको सम्भावित खतराबाट जोगिन १५ वर्षभन्दा माथि भएका व्यक्तिले नियमित रुपमा रक्तचाप जाँच्न आवश्यक छ । रक्तचाप जाँच गर्दा सामान्य अवस्थामा १२०÷८० छ भने तीन तीन महिनामा रक्तचाप जाँच गरे हुन्छ । पटक–पटकको जाँचमा रक्तचाप सामान्य नै छ भने ६ महिनाको अन्तरालमा जाँच गर्नुपर्छ ।
तर, जाँचका क्रममा प्रि–हाइपरटेन्सन छ अर्थात् माथिको १२० देखी १३९ र तल ८० देखि ८९ सम्म छ भने त्यो उच्च रक्तचापको बोर्डर लाइन हो । यदि कोहीले औषधि खाइरहेको छ र रक्तचाप पनि माथिको १४० भन्दा माथि र तलको पनि ९० भन्दा माथि छ भने अनिवार्य रुपमा १५÷१५ दिनमा रक्तचाप जाँच गराएर चिकित्कसको परामर्श लिनुपर्छ ।
नियन्त्रण कसरी गर्ने ?

रक्तचापको पहिचान गरी घरेलु औषधि वा झाडफूक भन्दा नगरी चिकित्सकको परामर्श बमोजिम औषधि नियमित रुपमा खानुपर्छ । केही व्यक्तिले करेला जस्ता तिता वस्तु खाएर बसेका हुन्छन तर त्यसको भरमा नबसी औषधि खानु जरुरी छ ।
यसका लागि औषधि सेवनसँगै जीवनशैलीलाई पनि सकारात्मक सुधार गर्नुपर्छ । औषधि खाएको छु भन्दैमा धुम्रपान, मद्यपान, बढी चिल्लो, रातोमासु सेवन गर्ने, फाइबरयुक्त खानेकुरा नखाने, फलफूल नखाने, व्यायाम नगर्ने र हिँडडुल नगर्ने हो भने त समस्या ज्यूँकात्यँु रहन्छ ।
रोकथाम कसरी गर्ने त ?
रक्तचाप असामान्य हुँदा नै रोक्ने तर्फ लाग्नुपर्छ । सामान्य अवस्थामा रहेका मानिसहरुको बढ्दो उमेर, वातावरण परिवर्तन, तनाव जस्ता कारणले पनि रक्तचाप बढ्न सक्छ । आफ्नो बानिव्यवहार, खानपिनमा केके सुधार गर्दै जाने भन्ने कुरा नियमित जाँच गर्दै थाहा पाउनुपर्छ ।
गुलियो घटाउने हो की, मोटोपन घटाउने हो की, व्यावायम बढाउने हो की भन्ने कुरा पहिला नै थाहा पाएपछि राकेथाम गर्न सहज हुन्छ । धुम्रपान, मद्यपान छाड्ने, रातो मासुलाई कम गर्दै जाने कुरा पनि रक्तचाप नियमित जाँचका क्रममा थाहा हुन्छ । त्यसकारण आफुमा केके सुधार गर्दै जाने हो भन्ने कुरालाई फलो गर्दै जाने हो भने रोकथाम गर्न सकिन्छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !