सुभाष कर्ण
जनकपुरधाम, पुस २ गते । कठ्याग्रिदो चिसोमा गाउँको छेउमा रहेका सामुदायिक भवन भित्र एक ११ वर्षिय बालक जिउ छल्ने जाडोको परवाह नगरी एकटक लगाएर रटान दिंदै पढनमा व्यस्त थिए ।
उनलाई देखेर यस्तो लाग्थ्यो, कि उनलाई पढाई अगाडि दुनियादारीको कुनै परवाह छैन । जाडो छल्न जहाँ युवादेखि वृद्धसम्म अगेनामा दिनचर्या गर्दै थिए । त्यहाँ ती बालक बिहानै बाक्लो शितलहरमा निफिक्र भएर पढन व्यस्त थिए ।
यो घटना हो धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ६ को गिद्धा बेलापट्टी गाउँको पुर्ववारी टोलको । जहाँ हरवाचरवा परिवारका ११ वर्षिय कक्षामा ५ मा अध्ययनरत बालक नतिश कुमार महरालाई बालपनको परित्याग गरी आफ्नो लक्ष्य पुरा अधिकांश समय पढाईमै बिताउने गर्छन ।
शिवलाल महरा र सानोदेवी महराको कान्छो छोरा नतिशको ठूला ओहदाको हाकिम बन्ने सपना छ । उनलाई हाकिम पद के हो, कसरी बन्न सक्छ र त्यसको काम हो लगायतका केही कुरा थाहा छैन । तर पनि उनले हाकिम बन्ने सपनालाई लक्ष्य बनाएका छन् । हाकिम बन्न उनी खेतखलिहानसहित पशुपाल्नमा आमा सानोदेवीको हात बटाउंदै बचेका समय खेलकुद छाडेर पढाईमै बिताउने गर्छन ।

हामी घुम्दाघुम्दा बिहान ८ बजेतिर सामुदायिक भवनमा पुग्दा एक÷डेढ दर्जन विद्यार्थी ट्विशन पढिरहेको थियो । त्यसमा अधिकांश विद्यार्थी पढाईसँगै बसेर खेलकूदमा रमाउंदै देखे । तर त्यसमा एक जना विद्यार्थी नतिश यस्तो देखियो जसलाई खेलकुदमा कुनै इन्ट्रेस्ट नभई पढाईमा व्यस्त थिए । उनी नेपाल किताब रटान मार्दै पढ्नमा व्यस्त थिए ।
फ्रीडम फण्डसको सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) द्वारा गिद्धा बेलापट्टीमा सञ्चालित ट्विशन कक्षामा नतिश संगै दर्जनौ विद्यार्थी पढिरहेका छन् । तर उनी अन्य विद्यार्थीभन्दा फरक छन् । त्यसको प्रमुख कारण हो समाजमा ठूला जात गरिने छुवाछुतको व्यवहार र सरकारी कार्यालयमा गरीब साना जाति भएको कारण बुवा शिवलाल महरालाई कार्यालयका कर्मचारीले गरेको दुव्र्यवहार हो ।
हामीले नतिशसँग सोध्यौं तिमीलाई अरु बच्चा जस्तै खेल्ने इच्छा हुँदैन । उनले भने सर, हामीलाई हरवा चरवा दलित परिवारका बच्चालाई खेल्ने कुदने भाग्यमा कहाँ छ र । अहिले खेल्यौं भने बुवा जस्तै अरुको खेतमा बँधुवा मजदूर भएर जिवनभरि काम गर्नुपर्छ । पुर्खाले अर्जेको सम्पति पनि छैन जसलाई बेचेर कुनै बिजनेश व्यापार गर्न पाउंछु । हामीहरुको त एउटै आधार छ पढेलखेर सरकारी वा प्राइवेट राम्रो जागिर गर्नु ।
जागिर त सामान्य पढाईले पनि गर्न सकिन्छ । तर त्यसको लागि यति पढाई नै जरुरी हो । उनले मुस्कुराउंदै भने सर म चानचुने कर्मचारी कहाँ बन्न चाहन्छु, मेरो त एउटै सपना हो कुनै सरकारी कार्यालयको हाकिम बन्न पाउँ । त्यसकै तयारीका लागि दिनरात मेहनत गरेर पढिरहेछु । अहिले नै म खेलमा दिन बिताई दिए भने अगाडि गएर ठूला दाई श्रवण महरा जस्तै पढाई अधुरै छाडेर मजदूरी गर्न भारत वा खाडीमूलक अरब कतार जानुपर्छ ।

हाकिम नै किन बन्ने हो बाबु भनेपछि उनले भने सर, एक पटक बुवासँग एक सिफारिसका लागि नगरपालिका कार्यालयमा जाँदा त्यहाँको हाकिमको पहिरन, कार्यशैलीसहितका रवाफी र दलित गरीब परिवारका व्यक्तिसँग गर्ने व्यवहार देख्दा मैले सोचे जब एउटा नगरपालिको हाकिमको यतिको रवाफ छ भने ठूलो सरकारी कार्यालयका उच्च ओहदाको कर्मचारीको कति इज्जत र पदीय शक्ति होला त्यही सोचेर मलाई पनि हाकिम बन्ने इच्छा भयो ।
नतिश गाउँकै श्री जनता माध्यमिक विद्यालय गिद्धा बेलापट्टीमा कक्षामा ५ मा परिहेका छन् । उनी स्कूलको पढाई बाहेक बिहान र बेलुका सिआईसीद्वारा सञ्चालित ट्विशन क्लाशमा पढदै आएका छन् । ती ट्विशन क्लासमा स्कूलका होमवर्क बाहेक अन्य थप पढाई समेत गर्ने गर्छन । सिआईसीद्वारा प्रदान गरिने कापी, डेटपेन, पेन्सिल लगायतका शैक्षिक सामाग्री उनको लागि ठूला सहयोगी बनेका छन् ।
उनी भन्छन यति सिआईसीद्वारा सञ्चालित यो ट्विशन क्लास र छात्रवृतिको रुपमा पाइने शैक्षिक सामाग्री प्राप्त नभएको भए, म पनि बुवा र दाजु जस्तै अरुको खेत र घरमा काम गर्ने मजदूर नै बन्नेछु । अहिलेसम्म राम्ररी नै पढदैछु । अगाडि हेरौ के हुन्छ । तर म आफ्नो लक्ष्य पूरा गर्न मेहनत मजदूरी गरेरपनि पूरा गर्नेछु । नतिश मेघावी छात्र मात्र होइन बुवा र आमासँग खेतको काम हात बटाउनुको साथै बचेका समयमा बाख्रा समेत घर नजिकैको खेतमा चराउन दैनिक रुपमा जाने गर्छन ।
नतिशका बुवा शिवलाल र आमा सानोदेवी गाउँमा जमिन्दार र अरु गृहस व्यक्तिको खेतमा मजदूरी गरेर पेट पाल्दै आएका छन् । उनीसँग आफ्नो कुनै जग्गा छैन । घर पनि एलानी जग्गामै बनाएर बस्दै आएका छन् । नतिशका जेठा दाजु श्रवण गरीबीले गर्दा कक्षा ९ सम्म पढेर, परिवारको पेट पाल्न भारतको पञ्जाब तिर मजदूरी गर्न गएका छन् । माइलो दाजु अमित महरा कक्षा ६ मा पढिरहेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !