जनकपुरधाम । नेपालकै ख्याति प्राप्त चर्चित साहित्यकार, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्र प्रसाद विमलको निधन भएको छ ।
डा. विमलको सोमबार मध्यराति करीब १ देखि बजेको समयमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको पार्थिव शरीर जनकपुरधामस्थित देवीचोकको निजी निवासमा अन्तिम दर्शनका लागि राखिएको छ ।
नेपाली एवं मैथिली साहित्यका उज्ज्वल नक्षत्रका रूपमा स्थापित डा. विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।
साहित्य, भाषा, शिक्षा र संस्कृतिको क्षेत्रमा लामो समय योगदान दिएका उनी नेपालकै साहित्यिक वृत्तमा शालीन, भद्र व्यक्तित्व तथा साहित्यिक गुरुका रूपमा सम्मानित रहेका थिए ।
मैथिली विकास कोष, जनकपुरधामका संस्थापक अध्यक्ष समेत रहेका डा. विमल मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धधनमा उनले महत्वपूर्ण योगदान पुरयाएका छन् ।
२६ जुलाई १९४७ मा धनुषा जिल्लाको देवडिहा गाउँसँगै रहेको खिरखिरिया गाउँकाे एक सामान्य परिवारमा उनकाे जन्म भएकाे थियाे । नेपाली, मैथिली र हिन्दी भाषामा स्नातकोत्तर गरेका उनले भाषाविज्ञान विषयमा विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गरेका थिए ।
जीवनको लामो समय शिक्षण पेशामा बिताएका डा. विमलले जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस सहित केही निजी क्याम्पसहरूमा नेपाली विभागमा प्राध्यापन गरेका थिए । चार दशकभन्दा लामो समय प्राध्यापनमा बिताएर उनी अवकाशप्राप्त गरि घरमै बस्दै आएका थिए ।
डा. विमलको साहित्यिक यात्रा पहिलो कथा ‘विपतिया’ १५ मार्च १९६३ मा ‘मिथिला मिहिर’मा प्रकाशित भएको थियो । त्यसयता उनी निरन्तर साहित्यका विभिन्न विधामा सक्रिय रहे ।
उनले कथा, गीत, गजल, कविता, नाटक, टेलीसिरियल, उपन्यास, समालोचना र बालसाहित्यलगायतका विधामा कलम चलाएका थिए । उनका प्रमुख कृतिहरूमध्ये आकृति संस्थाद्वारा प्रकाशित ‘ई हमरे कथा थिक’, मैथिली विकास कोषद्वारा प्रकाशित ‘इतिहासक घाउ, ‘बौआक पोथि’, ‘सुरुज उगवासँ पहिने’ लगायतका कृति रहेका छन् । ‘सरबरिआ गाउँको कथा’, ‘फिस्टी रानी’ लगायतका उनका रचना पनि चर्चित छन् ।
गोरखापत्र, मधुपर्क, गरिमालगायतका पत्रपत्रिकामा समेत उनकाे दर्जनाै लेख रचना प्रकाशित हुँदै आएको थियो । उनीद्वारा लिखित मैथिली टेलिफिल्म ‘हंसा चलल परदेश’ नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो ।
दर्जनाै पुरस्कार तथा सम्मान
नेपालकै पहिलो नेपाल विद्यापति भाषा–साहित्य पुरस्कार पाएका थिए । उनी गरिमा, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा, सिद्धी श्रीलगायतका दर्जनाै पुरस्कार तथा विभिन्न सम्मानबाट सम्मानित र थिए ।
यी बाहेक डा. विमल नेपाली तथा मैथिली साहित्यमा पुर्याएको योगदानका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाबाट सम्मानित भएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !