जनकपुरधाम । राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले सरकारसँग चारबुँदे लिखित सहमति भएपछि करिब दुई सातादेखि जारी आमरण अनशन स्थगित गरेका छन्।
सुनसरीको देवानगञ्जमा भएको घटनाका पीडितलाई न्याय दिलाउनुपर्ने, हिन्दु धर्म तथा संस्कृतिको संरक्षण गर्नुपर्ने र सुरक्षा एवं नीतिगत विषयमा स्पष्टता कायम गर्नुपर्नेलगायतका माग राख्दै यादव अनशनमा बसेका थिए।
यादवले गत साउन १४ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका थिए। उनले देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाका पीडित तथा प्रभावितलाई न्याय, उनीहरूको सुरक्षाको सुनिश्चितता र दीर्घकालीन नीतिगत समाधानसहित ६ बुँदे माग सरकारसमक्ष राखेका थिए।
राष्ट्रिय एकता दलका केन्द्रीय सदस्य मानिष पुर्वेद्वारा जारी विज्ञप्तिअनुसार सरकारले अध्यक्ष यादवका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै चारबुँदे लिखित सहमति गरेपछि अनशनलाई तत्कालका लागि रोकिएको हो।
दलले सरकारसँग भएको सहमतिअनुसार सुनसरी घटनाबाट प्रभावित परिवार तथा पीडितका पक्षमा आवश्यक कदम शीघ्र अघि बढ्ने अपेक्षा गरेको जनाएको छ। सहमति कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्नेमा समेत दलले जोड दिएको छ।
हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षणका विषयमा भने आवश्यकता र परिस्थितिअनुसार आगामी दिनमा पनि आफ्ना गतिविधि तथा आन्दोलनलाई निरन्तरता दिने राष्ट्रिय एकता दलले जनाएको छ।
अध्यक्ष यादवले कुमारी कन्याको हातबाट जुस पिएर आमरण अनशन अन्त्य गरेका हुन्।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !