जनकपुरधाम । सुनसरी, सप्तरी, सिराहा र धनुषालगायतका जिल्लामा मुस्लिम समुदायमाथि भएका तोडफोड, आगजनी तथा मानवीय क्षतिका घटनामा संलग्न व्यक्तिमाथि तत्काल कारबाही गर्न मुस्लिम अगुवाहरूले सरकारसँग माग गरेका छन्।
जनकपुरधामका मुस्लिम अगुवा नेता हाकिम राइनको नेतृत्वमा रहेको टोलीले ओलमा फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष मोहम्मद फारुक बर्कातीको अध्यक्षतामा गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै पीडितलाई न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेको हो।
ध्यानाकर्षण पत्रमार्फत सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहताको मृत्यु तथा सिराहाको गोलबजारमा गणेश यादवको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरिएको छ। मृतकका परिवारसँग भएका सहमति तथा सरकारले घोषणा गरेका राहत र क्षतिपूर्तिका निर्णयलाई ढिलाइ नगरी कार्यान्वयन गर्न पनि माग गरिएको छ।
मुस्लिम अगुवाहरूले विभिन्न जिल्लामा मुस्लिम समुदायका घर, पसल र मस्जिदमा भएको तोडफोड तथा आगजनीका घटनाको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन्। दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
घटनाका कारण प्रभावित परिवार र व्यवसायीले बेहोरेको वास्तविक क्षतिको मूल्यांकन गरी सोहीअनुसार राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरूको भनाइ छ। सरकारी घोषणा र पीडित पक्षसँग भएका सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदा पीडितहरू थप समस्यामा परेको भन्दै तत्काल राहतको व्यवस्था गर्न माग गरिएको छ।
ध्यानाकर्षण पत्र बुझाउने टोलीमा मुफती उस्मान बर्काती, मौलाना मोहम्मद महबुब राजा, हाजी जाल मोहम्मद, महबुब नजमीसहित धनुषाका विभिन्न मुस्लिम अगुवाहरू सहभागी थिए।
मुस्लिम अगुवाहरूले घटनापछि समुदायमा देखिएको असुरक्षा र असन्तुष्टि हटाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। पीडितको सुरक्षा, न्यायको प्रत्याभूति र धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न राज्य जिम्मेवार ढंगले अघि बढ्नुपर्ने उनीहरूको जोड छ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !