जनकपुरधाम, माघ ८ गते । भारतको अयोध्यामा भएको भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा महोत्तरीको मटिहानी स्थित लक्ष्मीनारायण मठमा भगवान सीतारामको कलात्मक प्रतिमा बनाएर भव्य पूजापाठ गरिएको छ ।
भगवान श्री सीतारामको २५ फिट अग्लो कलात्मक प्रतिमाको अनावरण गर्दै पूजापाठ गरिएको हो । सो प्रतिमाको अनावरण श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, लोसपा अध्यक्ष महन्थ ठाकुर र मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल लगायतका व्यक्तिहरुले संयुक्त रुपमा गरेका छन् ।
सो प्रतिमाको पूजापाठ गर्न हजारौको संख्यामा श्रद्धालु दर्शनार्थीहरु पुगेका छन् । सो अवसरमा बाजागाजा, कीर्तन सहित स्वस्ति वाचन र आरती गरिएको थियो । मटिहानीमा अयोध्याको हर्षोल्सा र उत्साहको झल्को देखिएको छ ।
मन्त्री भण्डारीले अयोध्यामा नवनीर्मित मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा र ठाउँ ठाउँमा आयोजना गरिएको पूजा अराधनाले सीतारामको महिमा नयाँ पुस्तालाई बुझाउन सहज वातावरण निर्माण गरेको भने ।
मटिहानी रामायण कालिन भूमि रहेकाले भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा लक्ष्मीनारायण मठमा भव्य पूजाको आयोजना गरिएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले बताएका छन् । भगवान श्रीसीतारामको पूजापाठ गर्न आएका श्रद्धालु भक्तजनहरुको प्रसाद वितरणदेखि प्रतिमा निर्माण र लक्ष्मीनारायण मन्दिर नगरपालिकाले स्वयं व्यवस्थापन गरेका थिए । मटिहानी नगरपालिकाले लक्ष्मीनारायण पोखरीमा सांझ विशेष गंगा आरती दिपोत्सव समेत आयोजना गरिएको छ ।
यसैबीच जलेश्वर नगरपालिकामा समेत भगवान श्रीसितारामको प्रतिमा बनाई पूजापाठ गरिएको छ । सांझ पख त्यहां पनि दिपोत्सव मनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !