सुभाष कर्ण
जनकपुरधाम, पुस ४ गते । हरवा चरवा दलित परिवारकी दस वर्षिया बालिका दिपिका कुमारी महरालाई डाक्टर बन्ने सपना छ । धनुषाको विदेह नगरपालिका ६ स्थित गिद्धा बेलापट्टी उमेश महराकी छोरी दिपिका डाक्टर बन्न कलिलै उमेरदेखि पढाईमा रुचि मात्र नभई लगनशिलता समेत लगाएकी छिन् ।
गिद्धा बेलापट्टी पुर्ववारी टोलमा रहेको सामुदायिक भवनमा फ्रीडम फण्डसको सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) द्वारा गिद्धा बेलापट्टीमा सञ्चालित ट्विशन कक्षामा उनी विद्यालयको होमवर्क पूरा गर्नका साथै अतिरिक्त तयारीका लागि दैनिक रुपमा बिहान बेलुका ट्विशन पढन जाने गरेकी छिन् ।
उमेश महरा र बबिता महराको जेठो सन्तानको रुपमा रहेकी दिपिका भन्छिन् आफूलाई डाक्टर बन्ने रहर छ । ती रहर नै पूरा गर्न आफू दिनरात मेहनत गरेर पढिरहेको छु । आमा बुवाभन्दा पनि मेरो सपना हो डाक्टर बन्ने । हुनत बा आमाले भन्ने गर्छन छोरी डाक्टर बन्ने सौभाग्य धनीमनी र ठूला जातका छोराछोरीलाई मात्र हो, हामी जस्ता गरीबलाई एकछाक टार्न धौ धौ परिरहेका छन् भने डाक्टरी कहाँबाट पढाई दिने ।
बा आमाको ती कुरा सुनेर आफूलाई पनि लाग्छ । यो सत्य नै होला कि, तर पनि मैले डाक्टर बनेर अठोट लिएको छु । उनी भन्छन् संसारमा यति डाक्टर छन् सबै धनीमनी र ठूला जात होला भन्ने छैन गरीब र दलित परिवारका पनि छोराछोरी छन् । म पनि डाक्टर बन्न सक्छु जस्तो लाग्छ । एकचोटी मेहनत गरेर के जान्छ र प्रश्न ती कलिला बालिकाको रहेको छ ।
गाउँकै श्री जनता माध्यमिक विद्यालय गिद्धा बेलापट्टीको कक्षामा ५ मा अध्ययनरत दिपिका आफ्नो लक्ष्य पुरा गर्न कठ्याग्रिदो चिसोको कुनै परवाह नगरी पढ्नमै आफ्नो पूरा समय व्यतित गर्ने गर्छिन । दिपिकाका बुवा उमेश भारतको आसामतिर मजदूरी गर्दै आएका छन् भने आमा बबिता गाउँकै गिरहथमा मजदूरी गर्ने गर्छिन ।
बुवा र आमा दुवै मजदूरीले जेनतेन परिवारको गुजारा हुने गर्छन । गाउँका अरु बालबालिका जस्तै उनलाई पनि खेल्ने रमाउने रहर दिपिकालाई भएपनि डाक्टर बन्ने सपनाले त्यसलाई छेक्ने गर्छन । दिपिका भन्छिन् सर अरु बच्चा जस्तै मलाई पनि खेल्ने इच्छा हुन्छ । तर के गरौं डाक्टर बन्ने सपनाले अहिले खेल्नेमा जिवन बिताए भने आमा जस्तै घरको गृहणी बनेर बालबच्चा पाल्ने र अरुको खेतमा मजदूरी गर्नुपर्छ । त्यही सोचेर खेलकूदको इच्छा मारिसकेका छौं ।

सानो फुसको झोपरीमा आमा बुवासँगै दुई भाईसहित बस्दै आएकी कठ्याङद्रो चिसो छल्न न्यानो कपडाको आभाव समेत खेप्नु परिरहेको दिपिकाको सपना फ्रीडम फण्डसको सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) ले पुरा गर्ने भन्ने विश्वास रहेको छ ।
सिआईसीद्वारा संचालित ट्विशन कक्षामा उनी बिहानै उठेर साढे ६ बजे सो ट्विशन कक्षामा जान्छिन । त्यहाँ विद्यालयको होमवर्क गर्नुका साथै किताबकै एक्स्ट्रा पढाई गर्ने गर्छन । त्यसपछि साढे ८ बजे घर आएर नुहाई धुवाई खान खाएर १० बजे विद्यालय जान्छन र त्यहाँबाट आएलगतै आमालाई घरको काममा हात बटाउंदै बाख्रा चराउन जान्छिन । त्यसपछि बेलुका पनि ट्विशन पढ्न जाने गर्छिन ।
सिआईसीले उनलाई पढाईमा निशुल्क ट्विशन कक्षा सहयोगसँगै कापी, पेन्सिल, ब्याग लगायतका शैक्षिक सामाग्री छात्रवृतिको रुपमा वर्षेणी दिदै आएका छन् । तीन वर्षदेखि सिआईसीको ट्विशन कक्षामा पढ्दै आएकी दिपिका भन्छिन ‘सिआईसीले आफूलाई पढाईमा सहयोग नगरेको भए मूर्ख बनेर नै बस्थे वा बुवा जस्तै गिरहत कहाँ मजदूरी गर्नुपथ्र्यो । विद्यालयको पढाईले मात्रै नपुगेर सिआईसीको ट्विशन कक्षाले सहयोग पुरयाएपछि आफूमा पढने इच्छाशक्ति बढाएको छ ।’
उनी भन्छन् विद्यालयको पढाई मात्रै पुग्दैन । घरमा कोही पढे लेखेका नभएको कारण स्कूलको होमवर्क र अतिरिक्त पढाईका लागि यो ट्विशन क्लास मेरो पढाईको लागि सहयोगी मात्र नभई संजिवनी नै रहेको छ ।
परिवारले बिताइरहेको गरीबी जीवन र समाजमा दलित भनेर भोगिरहेको हेप्काईको पीडा समेत दिपिकालाई कलिलो उमेरमै पिरोलीरहेको छ । उनी भन्छन् समाजमा हामीलाई जातिगतभन्दा पनि गरीबीको कारण हेपिरहेको छ । ठूलाबडा जात त के अन्य जात पनि आफ्नो दूरा दरवाजामा जान दिदैन् । विद्यालयमा त हेप्दैन तर गाउँघरमा यो चमार जाति महरा थरको हो भनेर हेप्ने गर्छन ।
डाक्टर नै किन्ने भन्ने जिज्ञासा राख्दा दिपिकाले भनिन् ‘स्वास्थ्य मानव जीवनको सबभन्दा ठूलो सम्पति हो । हामीलाई आफ्नो लागि मात्र नभएर समाजका लागि बाच्नुपर्छ र डाक्टर पेशामा जातधर्मको कुनै भेदभाव हुँदैन र यसले समाजसेवा संगै आर्थिक आम्दानी पनि राम्रो हुने सक्ने भएकाले आफूले डाक्टर बन्ने लक्ष्य लिएको हुँ ।’

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !