जनकपुरधाम । धितोमा राखिएको जग्गा फिर्ता नगरेको तथा धितोको जग्गा अन्य व्यक्तिलाई बिक्री गरेको आरोपमा जनकपुरधामका सुनचाँदी व्यवसायी शिवशंकर प्रसाद साह विवादमा परेका छन्।
दुई फरक–फरक ऋण कारोबारसँग जोडिएका दुई पीडितहरूले जग्गा फिर्ता, निष्पक्ष अनुसन्धान र न्यायको माग गरेका छन्।
आइतवार धनुषा प्रहरीले पिडीत क्षीरेश्वरनाथ नगरपालिका–६ महेन्द्रनगर निवासी सुरेन्द्र कुमार यादवकाे जाहेरीमा साहलाई पक्राउ गरि अनुसन्धान अघि बढाएकाे छ । साह पक्राउ परेकाे घटनामा सुनचाँदी व्यवसायीहरूले साेमवार प्रहरीविरूद्ध विराेध प्रदर्शन समेत गरेका छन् ।
पहिलो घटनामा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ निवासी सुरेन्द्र कुमार यादवले आफ्ना बाबुको नाममा साहसँग एक करोड रुपैयाँ ऋण लिँदा दुई ठाउँको जग्गा धितो राखेको बताएका छन्।
तीमध्ये एउटा जग्गा हिसाब चुक्ता भएपछि फिर्ता भए पनि महेन्द्रनगरस्थित राजमार्गसँग जोडिएको अर्को जग्गा आफ्नो जानकारी तथा सहमतिबिना बिक्री गरिएको उनको आरोप छ।
पटक–पटक जग्गा फिर्ताको आग्रह गर्दा सुनुवाइ नभएपछि उनले प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले साहलाई नियन्त्रणमा लिएको जनाएको छ।
साह पक्राउसंगै उनी अर्काे पनि अनुचित लेनदेन मुद्दामा जग्गा खरीदबिक्री गरेकाे घटना सार्वजनिक भएकाे छ ।
अर्काे दोस्रो घटनामा जनकपुरधाम उपमहानगरपालिका–१४ रजौल निवासी दुखी दास तत्माकाे । उनले २०७४ सालमा सुनिता देवी साहसँग व्यापार प्रयोजनका लागि ३० लाख रुपैयाँ ऋण लिँदा साढे पाँच कठ्ठा जग्गा धितो राखेको थियाे ।
ऋण लिएको करिब एक वर्षपछि सुनिता देवी साहले उक्त जग्गा शिवशंकर साहलाई बिक्री गरेको पीडित परिवारको आरोप छ।
साँवा तथा ब्याज बुझाएर जग्गा फिर्ता लिन खोज्दा सुनिता देवी साहले शिवशंकर साहसँग कुरा गर्न भन्दै पन्छाउने गरेको र साहले समेत जग्गा फिर्ता नगरी रकम लिएर विवाद टुङ्ग्याउन दबाब दिने गरेको तत्माको गुनासो छ।
पिडीत परिवारका अनुसार हाल उक्त जग्गाको मूल्य करिब आठ करोड रुपैयाँ पुगेको छ। जग्गा फिर्ताको माग गर्दै जिल्ला अदालत र उच्च अदालतसम्म पुगे पनि न्याय नपाएको तथा आर्थिक चलखेलका कारण आफूहरू पीडित बनेको उनको आरोप छ।
आर्थिक अवस्था कमजोर भएकाले सर्वोच्च अदालतसम्म पुग्न नसकेको भन्दै उनले राज्यका निकायसँग निष्पक्ष छानबिन र न्यायको माग गरेका छन्।
जग्गा विवादका कारण मानसिक तनावमा परेको तत्माले विगतमा आत्महत्या प्रयाससमेत गरेको बताएका छन्। लामो समयदेखि न्यायको प्रतीक्षामा रहेको परिवारले अब न्याय नपाए सडक आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।
दुवै घटनामा पीडित पक्षले लिखित कागजात, कारोबारको हिसाब तथा अन्य प्रमाण आफूसँग रहेको दाबी गरेका छन्।
उनीहरूको मुख्य माग धितोमा राखिएको जग्गाको कानुनी अवस्था स्पष्ट पार्दै जग्गा फिर्ता गराउनु र आर्थिक कारोबारको निष्पक्ष छानबिन गर्नु रहेको छ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !