जनकपुरधाम । नेपालको विद्यालय शिक्षा प्रणालीलाई समयसापेक्ष र गुणस्तरीय बनाउने लक्ष्यसहित प्रधानाध्यापक संघ नेपालले १२ बुँदे राष्ट्रिय विद्यालय रूपान्तरण प्रतिबद्धता सार्वजनिक गरेको छ ।
जनकपुरधाममा मंसिर ४ देखि ६ गतेसम्म आयोजित तेस्रो राष्ट्रिय प्रधानाध्यापक राष्ट्रिय सम्मेलनबाट विद्यालय शिक्षाको सुधारका लागि नीतिगतदेखि संस्थागत तहसम्म परिवर्तन आवश्यक रहेको निष्कर्ष निकाल्दै प्रतिबद्धतापत्र जारी गरेको हो ।
‘सँगै मिलेर उत्कृष्ट विद्यालय निर्माण गरौँ’ भन्ने नारासहित आयोजित सम्मेलनमा देशभरका करिब एक हजार प्रधानाध्यापक, शिक्षाविद्, शिक्षक, कर्मचारी तथा शिक्षा क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए ।
बदलिँदो विश्व परिवेशअनुसार विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्ने विषयलाई पनि सम्मेलनले महत्त्व दिएको छ । शिक्षक तथा विद्यार्थीलाई डिजिटल रूपमा सक्षम बनाउने, एआईको जिम्मेवार प्रयोग सिकाउने र साइबर सुरक्षासम्बन्धी ज्ञान विस्तार गर्ने प्रतिबद्धता पत्रमा समेटिएको छ ।
सम्मेलनमा उठेका विषय र तीन दिनसम्म भएका छलफललाई समेटेर तयार पारिएको प्रतिबद्धतापत्रले विद्यालयको नेतृत्व सुधार, शिक्षकको पेशागत क्षमता विकास, प्रविधिको प्रयोग र विद्यार्थीको सिकाइ उपलब्धिलाई प्रमुख प्राथमिकतामा राखेको छ ।
संघले विद्यालय शिक्षामा देखिएका नीतिगत अन्योल र प्रशासनिक जटिलता हटाउन समयानुकूल संघीय शिक्षा ऐन निर्माणका लागि सरकारसँग पैरवी तथा सहकार्य गर्ने जनाएको छ । विद्यालयलाई आवश्यक शैक्षिक तथा व्यवस्थापकीय निर्णय लिन सक्ने वातावरण निर्माण गर्न विद्यालयको स्वायत्तता र प्रधानाध्यापकको भूमिका सुदृढ बनाउनुपर्नेमा पनि जोड दिइएको छ ।
विद्यालय सुधारको नेतृत्व गर्ने प्रधानाध्यापकहरूको क्षमता विकासका लागि छुट्टै ‘प्रिन्सिपल्स लिडर्स एकेडेमी’ स्थापना गर्ने योजना संघले अघि सारेको छ । यसमार्फत नेतृत्व, शैक्षिक योजना, वित्तीय व्यवस्थापन तथा नवप्रवर्तनसम्बन्धी तालिम प्रदान गर्ने लक्ष्य राखिएको छ । प्रधानाध्यापकलाई विद्यालय सञ्चालनमा प्राविधिक तथा व्यवस्थापकीय सहयोग पु¥याउन पान एलएमएस समेत सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।
त्यसैगरी, विद्यालयलाई विपद्को जोखिमबाट सुरक्षित राख्न पूर्वतयारी, उद्धार अभ्यास, प्राथमिक उपचार तथा सुरक्षित पूर्वाधार निर्माणमा जोड दिइएको छ । भूकम्प, आगलागी, बाढीपहिरोलगायत सम्भावित जोखिमको सामना गर्न विद्यालयस्तरमै व्यवस्थापन योजना तयार गरी कार्यान्वयन गर्न संघले प्रतिबद्धता जनाएको छ ।
वातावरणीय संरक्षणलाई विद्यालय शिक्षासँग जोड्दै हरित विद्यालय अभियान अघि बढाउने पनि संघको योजना छ । वृक्षरोपण, जैविक विविधताको संरक्षण, फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जाको प्रयोग र जलवायु परिवर्तनसम्बन्धी शिक्षालाई विद्यालयका गतिविधिमा समेटिने जनाइएको छ ।
शिक्षक तथा विद्यालय कर्मचारीको पेशागत सम्मान र मनोबल अभिवृद्धिका लागि क्षमता विकास, पुरस्कार, सम्मान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि गरिएको छ । विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी नैतिकता, उद्यमशीलता, प्राविधिक दक्षता र जीवनोपयोगी सीप प्रदान गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ ।
विद्यालयको शैक्षिक उपलब्धि सुधारमा अभिभावक र समुदायको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै विद्यार्थीको कल्याण, बालअधिकार, लैङ्गिक समानता तथा मानसिक स्वास्थ्यका कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ ।
यसका साथै सफल विद्यालयका अभ्यासको अभिलेखीकरण, शैक्षिक अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन भ्रमण र अनुभव आदानप्रदानलाई संस्थागत गर्ने योजना संघले बनाएको छ । उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, शिक्षक, कर्मचारी, स्थानीय तह, शिक्षा पत्रकार, शिक्षाविद् तथा विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमसमेत प्रतिबद्धतामा समेटिएको छ ।
प्रतिबद्धतापत्रमा मधेश प्रदेशको शैक्षिक गुणस्तर र साक्षरता दर उकास्न विशेष पहल गर्ने विषयलाई पनि समावेश गरिएको छ । यसका लागि प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्दै शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्ने संघको योजना छ ।
प्रधानाध्यापक संघ नेपालका महासचिव लक्ष्मण श्रेष्ठ र अध्यक्ष सुदाम प्रसाद गौतमद्वारा संयुक्त रुपमा हस्ताक्षरित प्रतिबद्धतापत्रमा ‘सहकार्यबाट रूपान्तरण, नेतृत्वबाट नवप्रवर्तन र शिक्षाबाट समृद्धि’ भन्ने अवधारणालाई विद्यालय सुधारको मूल आधार बनाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !