जनकपुरधाम, माघ २४ गते । धनुषाको औरही गाउँपालिका अन्तर्गत देउरी परवाहाबाट पौडेश्वर जाने सडक खण्डमा एक महिलाको शव भेटिएको छ।
शुक्रबार बिहान सडकछेउमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचनापछि तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले शव नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी गणेश बहादुर बमका अनुसार शव फेला परेपछि पहिचान खुलाउन प्रयास भइरहेको भए पनि हालसम्म मृतकको सनाख्त हुन सकेको छैन। प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइसकेको छ।
डिएसपी बमले प्रारम्भिक अनुसन्धानका आधारमा मृतक करिब २५ वर्षीया विवाहित महिला भएको अनुमान गरिएको जानकारी दिए। उनका अनुसार शवको टाउकोमा गम्भीर चोट देखिएकाले कुटपिट गरी हत्या गरिएको आशंका गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण र महिलाको पहिचान अझै खुल्न बाँकी रहेको उनले बताए।
प्रहरीले मृतकको पहिचानमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। उक्त महिलालाई चिन्ने वा घटनासम्बन्धी कुनै जानकारी हुने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय धनुषामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !