जनकपुरधाम, असोज ६ गते । धनुषामा सवारी दुर्घटना न्यूनीकरण हुँदै गएको छ । चालु आर्थिक वर्षको २ महिनामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ ।
चालु आर्थिक वर्षको साउन महिनामा १ जना र भदौ महिनामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको धनुषा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको यही अवधिमा १४ जनाको मृत्यु भएको ट्राफिक प्रहररीको तथ्यांकमा उल्लेख छ ।
ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्षमा धनुषा जिल्लाभरीमा सवारी दुर्घटनामा परेर ७४ जनाको मृत्यु भएको थियो । जसमा सबैभन्दा बढी मिथिला नगरपालिकामा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि जनकपुरधाम उपमहानगरपालिकामा ११ जना, धनुषाधाम नगरपालिकामा ११ जना, लक्ष्मिनिया गाउँपालिकामा ६ जना, सबैला नगरपालिकामा ५ जना, विदेह नगरपालिकामा ५ जना, क्षिरेश्वरनाथ नगरपालिकामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो ।
धनुषा जिल्लाभरीमा यसअघि आर्थिक वर्ष २०७९/०८०मा ८४ जना र आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ५ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय जनकपुरधामका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । दुर्घटनामा सबभन्दा बढी तीव्रगति तथा मोटरसाइल नै रहेको उल्लेख उनले बताए । ट्राफिक कार्यालयको तथ्यांक अनुसार कुल सवारी दुर्घटनाको ६० प्रतिशत दुर्घटनाको कारण मोटरसाइकल रहेको छ । त्यस्तै सवारी दुर्घटनामा परेर मृत्यु हुनेमध्ये ६० प्रतिशतको मृत्युको कारण तीव्रगति रहेको पाइएको छ ।
गत आर्थिक वर्षमा धनुषा जिल्लाभरीमा १ हजार ५ सय ५५ सवारी दुुर्घटना मध्ये १ हजार ८४ मोेटरसाइकल दुर्घटना रहेको छ । त्यस्तै ट्रैक्टर १ सय ९, ट्रक १२, ट्रिपर ९, डोजर दुर्घटना २ वटा रहेको छ । तर चालु आ.ब. मा धेरै हदसम्म न्यूनीकण भएको छ ।
धनुषा जिल्लामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दिनदिनै घटदै जानु सकरात्मक रहेको र यसले ट्राफिक उल्लंघनको घटनामा न्यूनीकरण आएको ओलीले बताए । पछिल्लो समय हामीले जनचेतनाका कार्यक्रम बढाएका छौँ, ओलीले भने‘ जनचेतनाका कार्यक्रमहरु प्रभावकारिता सवारी दुर्घटना र ट्राफिक उल्लंघनको घटनामा कमी आउनुले देखाएको छ । यो हाम्रो लागि सुखद संकेत हो ।’

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !