एसके कर्ण । पेट पाल्न १२ वर्षकै उमेरमा फिरन पासवान गिरहत कहाँ हरुवा (हल्लो जोत्ने) चरुवा (गाई भैंसी चराउने) को काम थालेका थिए । तर करीब ५ दशक बितिसक्दा पनि उनको गरीबी दूर त के हुनु झन जीवन झन पीडादायी बनेको छ ।
धनुषा जिल्लाको शहीदनगर नगरपालिका वडा नम्बर ४ ननुपट्टी गाउँ निवासी उमेरले ६० वर्ष कटिसकेका छन । यस्तो पाको उमेरमा पनि गिरहत कहाँ छाक टार्न वार्षिक १० हजार रुपैयामा बिहानदेखि बेलुकासम्म खेत खलिहानदेखि घरसम्म काम गर्दै आएका छन ।
फिरनको जीवन निकै पीडादायी छ, ७ जनाको परिवारमा सग पुर्ने कोही छैन । श्रीमति आशादेवी पासवान वर्षौदेखि थाइराईड रोगले पिडित भई थल्ला परेकी छिन । बेडबाट उठ्न सक्नेसम्मको अवस्था छैन आशादेवीको । श्रीमतिकै उपचारका लागि गिरहतबाट उठाएको ऋण डेढ लाख रुपैया पुगिसकेको छ । सो ऋण कहाँबाट चुक्ता गर्नेभन्दा पनि परिवारको पेट कसरी पाल्ने भन्ने चिन्ता दिनरात सताईरहेको छ ।
हुनत उनको दुई छोरा, एक बुहारी र दुई नाति पनि परिवारमा छन । जेठा छोरा सुभाष पासवान मानसिक रुपले त्यति ठिक छैन भने कान्छा छोरा विमलेश पुर्णरुपले लाटो छन । बुहारी मानसिक र शारिरीक रुपले ठिक भएको कारण फिरन संगै गिरहतको काममा हात बटाउने गर्छिन । फिरन खेतको रोपाई कटाई र घरको बाहिरी कामकाज र बुहारी घर बहारसुढारदेखि बर्तन मांझ्ने लगायतका कामकाम गिरहत कहाँ गर्दै आएकी छिन ।
हरुवा चरुवाहरुको रिपोर्टिंगको क्रममा जनकपुरधाम स्थित परिवार नियोजन संघमा हाम्रो भेट फिरन सँग भएको थियो । कठ्याग्रिदो चिसोमा मात्र एउटा फाटेकोको सर्ट, जाडो छल्न पुरानो गन्दा गमछा ओढेको देख्दा नेपालमा यस्तो पनि गरीबी जीवन विताईरहेकाहरु पनि छन भन्ने आश थिएन ।
कुराकानीको क्रममा उनले आफ्नो पीडा पोख्दै भने हजुर हाम्रो लागि भगवान पनि जीवन खुशहाल हुन्छ भन्ने आश नै मरिसकेको छ । दिनदिनै पीडामाथि पीडा झन थपिदै गएको छ । अब त के घाम, के वर्षा र के चिसो हाम्रा लागि सबै बराबर भई पीडामा जिवन बिताउने बानी परिसकेको छ ।
फिरनले जीवन वृतान्त सुनाउंदै भने एक त गरीब त्यसमा पनि दलित परिवारको पेटको छाक टार्न पढन पाएनौ, १२ वर्षकै उमेरमा बुवा रुपलाल पासवान संगै गिरहत लक्ष्मी साह कहाँ घरको काम थालेको आजसम्म हरुवा चरुवाकै रुपमा काम गर्दै आएको छु । बस्न जग्गा पनि छैन, गाउँकै ऐलानी अढाई धुर जग्गामा फुसको घर बनाएर दशकौंदेखि बस्दै आएको छु ।
आकाशको ओत ढाक्न छाप्रो छैन, प्लास्टिक र कपडाले ढाकेर समय व्यतित गरिरहेको छु । वार्षिक मात्र सय रुपैयामा हरुवा चरुवाको रुपमा गिरहत कहाँ काम थालेको थिए अहिले वर्षको १० हजार पाईरहकोछु । अहिलेको मंहगाई जमानामा वर्षको १० हजार रुपैयामा ७/७ जनाको पेट पाल्न सम्भव छ भन्ने प्रश्न उनले गरे । यस्तो अवस्थामा कसरी परिवारको गुजारा गरिरहनु भएको भन्ने कुरामा उनले भने गिरहतकै बाँचेको बासी खाना, कहिलेकाहीं अरुको घरमा बारीमा काम गर्दा पाइने ५/६ किलो बईनमा दिन काटिरहेकोछु, जुन दिन कुनै व्यवस्था नभए भोकै पेट बस्ने गर्छु ।
लता कपडा पनि गिरहतकै फाटा पुराना, गाउँघरका केही व्यक्तिले दया लागेर दिएको दिएको कपडाले आफ्नो परिवारको शरीर ढाक्दै आएको छु । यस्तो जाडो छल्न परालको चटाई र बोराको सिरक झै बनाएर ओढदै आएको छु । नगरपालिका र प्रदेश सरकारबाट पछिल्लो पटक कम्बलहरु वितरण गरिएको सुन्यो, तर त्यो गरीब भन्दा पनि आफ्ना चिनजानका मान्छेलाई हाम्रो गाउँमा दिइयो, आफू जाँदा लिस्टमा नामै छैन भनेर फर्काइदियो ।
डेढ लाख रुपैय ऋणबारे उनले वृतान्त सुनाउंदै भने हजुर ऋण त ३० हजार र २० हजार गरी मात्र ५० हजार रुपैया लिएको छु । समयमा चुक्ता नगरेको कारण ब्याज बढदै डेढ लाखसम्म पुगेको हो । किन ऋण लिनु भए प्रसंगमा उनले भने श्रीमति आशादेवी थाइराईड बिरामीले पिडीत भएपछि उपचारका लागि ऋण लिएको थियो । केही रकम आपत विपत पर्दा सय दुई सयरुपैयाको दरले लिएको छु त्यो पनि गिरहतले ऋणमै जोडेको छ ।
अर्को रोजगार किन गर्नु हुन्न भन्ने जिज्ञासामा फिरनले भने गिरहत कहाँबाट फुरस्त भए मात्र बाहिर काम गर्न पाउंछु । तर अहिले त्यो पनि सम्भव छैन, जवानीमा गर्न पाएनौं, अब बुढो भइसकेछौं यो उमेरमा लेबर मजदूरी पनि गर्न सक्दैनौं, बुहारी एक्ली गाउँ बाहिर दुई÷दुईवटा सन्तान लिएर कहाँ काम जान सक्छिन, छोरा लाटो नै छ ।
७÷७ जनाको पेट पाल्नुपर्ने अवस्थामा गिरहतको डेढ लाख कसरी चुक्ता गर्नु हुन्छ भन्ने प्रश्नमा मायुस भएर फिरनले कुनै उपाय नै छैन, बुवाको बोझ कम गर्न म हरुवा चरुवाको दासत्व जीवन व्यतित गरे अब आउने मेरो पिढी पनि त्यो ऋण नै चुक्ता गर्न हरुवाचरुवा दासत्व स्वीकार्नेछ ।
तपाईको बुवा, तपाई पनि गिरहत कहाँ नै दासत्व झै जीवन बिताउनु भयो, छोरा लाटो नै छ, अब नातिहरुलाई पनि के हरुवाचरुवा नै बनाउने हो त भन्ने प्रसंगमा उनले भने, हजुर यो सौखको कसैको हुँदैन, तर के गर्ने बाध्यता छ । हुनत नातिहरुलाई मेहनत मजदूरी गरेर एकछाक भोखै रहेरपनि ऋण काढेर पढाई रहेछौं, तर कतिको सफल होला भन्ने भर हामीमा होइन तिनीहरुमा हो, तिनीहरुको मेहनतले भविष्य निर्धारण गर्नेछ ।
फ्रीडम फण्डसको आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र (सिआईसी) द्वारा हरुवा चरुवाहरुको कार्यक्रमबाट के कतिको सहयोग पाउनु भएको छ भन्ने कुरामा उनले भने श्रीमति आशादेवी हरुवा चरुवाहरुको जय माँ सन्तोषी भन्ने समूहमा आबद्ध छिन । सिआईसीको हरुवा चरुवा कार्यक्रमबाट पछिल्लो पटक दस हजार रुपैया साना व्यवसाय रोजगारका लागि पाएका थियौं, तर दुर्भाग्यवश सो रकम श्रीमति आशादेवीकै उपचारमै खर्च भयो ।
त्यसबाहेक विभिन्न साना व्यवसाय सम्बन्धी विभिन्न तालिमहरु पनि लिएका छौं, तर आर्थिक व्यवस्था नै भएको कारण त्यो तालिम अहिले प्रयोगमा आउन सकेको छैन । सिआईसीको शैक्षिक कार्यक्रम अन्तर्गत नातिले निशुल्क टिउसन कक्षा र छात्रवृति वापत विद्यालयको पोशाक, ब्याग, कपि, पेन्सिल लगायतका शैक्षिक सामाग्री पाएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !