एसके कर्ण । मेहनतले पढे लेखेर हरुवा चरुवा आमाबुवालाई गरीबी जीवनबाट उन्मुक्ति दिलाउने सपना दलित परिवारका ११ वर्षिय बालक चन्द्रदीप माझीको रहेको छ ।
धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ५ पचहर्वा निवासी सिटहु माझीका एक छोरा र तीन छोरी सहित ४ वटा सन्तान मध्ये चन्द्रदीप जेठा छोरा हुन । बुवाआमाले गिरहत कहाँ मात्र १० किलो बईनमा बिहानदेखि बेलुकासम्म गर्दै आएको दासत्व जीवन झै मजदूरीको गरीबीलाई उनले नजिकले नियालेका छन ।
आकाश ढाक्ने प्लास्टिकले बनेको छाप्रो सहितको सानो फुसको झोपरीमा बस्दै आएका चन्द्रदीपलाई कठ्याङद्रो चिसो छल्न न्यानो कपडाको आभाव समेत खेप्नु परिरहेको छ, यो उमेरमा उनलाई पढाई लिखाईभन्दा बढी चिन्ता बुवाआमालाई हरुवा चरुवाको गरीबी जीवनबाट उन्मुक्ति कसरी दिलाउने सताई रहेको छ ।
हामी रिपोर्टिंगका लागि उनको घर पुग्दा बेलुका करीब साढे बजेतिर उनी कठ्याङग्रो चिसोमा मात्र एउटा सर्ट लगाएर थरथरआउंदै सो फुसको झोपरीको आँगनमा फाटेको प्लास्टिकको पटियामा बसेर विद्यालयमा दिइएको होमवर्क गरिरहेको थियो । उनको यो रुग्न अवस्था हेरेर जो कोहीलाई पनि स्तब्ध बनाउन सक्थ्यो ।
चन्द्रदीप अहिले गाउ्रँकै श्री जनता आधारभूत विद्यालय पचहर्वाको कक्षामा ७ मा अध्ययनरत छन । गरीबीले अतिरिक्त टिउसन कक्षाको व्यवस्था नभएको कारण घरमै बिहान बेलुका ३÷३ घण्टाको समय तालिका बनाएर विद्यालयको होमवर्कका साथै थप पढाई गर्दैछन । मानसिक रुपले स्वतन्त्र रुपले पढनुको सट्टा उनको मनभित्र लुकेका बुवाआमाको गरीबी जीवनको अवस्थाले कुनैपनि हालतमा पढेर लेखेर सरकारी जागिर गर्ने दृढ संकल्पित बनाएका छन ।

गाउँका सो उमेरका अधिकांश बालबालिका छाक टार्न बुवाआमासँगै काम गर्ने वा शहर बजारमा घरमा काम गर्ने गरेको छन । तर चन्द्रदीप गरीबी सहेर पनि पढेर लेखेर सरकारी जागिर पाउने आशमा संकल्पित भएर दिनरात मेहनत गरेर पढ्दैछन । उनमा यो अठोटको बाटो अरु कसैले होइन फ्रीडम फण्डसको आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र (सिआईसी) ले हरुवा चरुवाहरुको बालबालिकाको शैक्षिक सुधारका लागि संचालन गरेको टिउसन कक्षा र छात्रवृतिबाट आएको हो ।
गत दुई वर्षअघि सिआईसीले सो गाउँमा करीब ४ वर्षसम्म संचालन गरेको टिउसन कक्षा र छात्रवृति वितरणमा सहभागी हुँदा गरीब दलित हरुवा चरुवा परिवारका बालबालिका पनि पढेर लेखेर ठूला मान्छे बन्न सक्छन भन्ने संकल्पित बनाएका हुन । उनले कुरा गर्दै भने म सानै छदाँ गरीबको पनि बालबच्चा पढछन भन्ने विश्वास थिएन । तर गाउँमा सिआईसीले निशुल्क टिउसन कक्षा संचालन र छात्रवृतिमा कापी, पेन्सिल, डटपेन, ड्रेस, स्कूल ब्याग लगायतका सहयोगी सामाग्री दिंदा विश्वास भयो यदि जीवनमा कोही सहयोगी भयो भने गरीबका बालबच्चा पनि पढन सक्छन ।
त्यो बेला म कक्षा दुईमै अध्ययनमै अध्ययनरत थिए । सरकारी विद्यालय भएको कारण कक्षा दुईमा पढ्दा पनि क, ख, ग सम्म पनि आउंदैन्थ्यो, नाम मात्रको भारा टाल्न विद्यालय जाने आउने गरी पढाई गरिरहेको थिए । तर सिआईसीले संचालन गरेको टिउसन कक्षामा सहभागी हुँदा कखारा मात्र होइन किताब पढनसम्मको सक्षम बनाई दियो, त्यो बेला नै म भित्र जोश जाँगर जाग्यो होइन सहयोगी भयो भने जो कोही पढन सक्छ । त्यही दिनदेखि संकल्पि भएर सो टिउसन कक्षामा चार सालसम्म पढे, पछि त त्यो टिउसन कक्षा नै समाप्त भयो ।

अहिले कसरी पढिरहनु भएको छ, थप सिकाईका लागि त टिउसन कक्षा छैनन भन्ने जिज्ञासामा चन्द्रदीपले भने टिउसन कक्षामै म एउटा तेज विद्यार्थी भइसके थिए । अब त्यसकै आधारमा घरमै पढेर काम चलाई रहेछु । टिउसन किन पढनु भइरहेछैन भन्ने प्रश्नमा उनले भने कहाँबाट पढनु टिउसनमा कम्तीमा ३/४ सय रुपैया महिनाको लाग्छ, यहाँ त एक छाक टार्न आमाबुवा दुवै मिलेर गिरहत कहाँ मात्र १० किलो धानको बईनमा काम गरिरहेको छ, त्यो पनि वर्षको मात्र ४/५ महिना, थप कुनै आर्थिक श्रोत नै छैनन ।
चन्द्रदीपका बुवा सिटहु माझी र आमा गंगिया देवी दुवै गाउँकै जमिन्दार गिरहत सतो साह कहाँ हलो जोत्ने, गाई भैंसी चराउने र घरको कामकाज सहित हरुवा चरुवाको रुपमा काम गर्दै आएका छन, गिरहत कहाँ काम भए गर्ने नभएर बसेर नै दिन बिताउने गर्छन । गिरहत कहाँ काम भएको अवस्थामा बाहिर कुनै ठाउँमा काम गर्न पाउंदैनन भन्ने पाबन्दी समेत ती परिवारलाई खेपि परिरहनु बाध्यता छ । बेला बखतमा बाहिर काम गर्न इच्छा भएपनि चाहिएको बेला काम पाउंदैनन ।
चन्द्रदीपलाई मात्र होइन घर परिवारका कुनैपनि सदस्यलाई आवश्यक लताकपडा छैन, पैसा आभावमा किन्न पनि सक्ने अवस्था छैन, गिरहतले नै दिएको लता कपडा लगाएर ती परिवार जसोतसो जीवन धानिरहेका छन । सिआईको हरुवा चरुवा कार्यक्रमको मिथिला हरुवाचरुवा समूहमा चन्द्रदीपकी आमा गंगिया देवी समेत आबद्ध छिन । पछिल्लो पटक सिआईसीद्वारा संचालित साना व्यवसाय संचालन तथा प्रवद्र्धन तालिममा उनी सहभागी पनि भई तर आर्थिक अवस्था कमजोर भएको कारण त्यो तालिम पनि खेर नै गएको छ ।
हुनत केही आर्थिक सहयोग सिआईसीबाट उपलब्ध भएपनि त्यो रकम साहूकारबाट लिएको ऋणमै गयो । अब जिवन कसरी धान्ने चिन्ता ती माझी परिवारलाई भएको छ भने चन्द्रदीपले दुख कष्ट सहेरपनि पढेलेखेर लोकसेवामा नाम निकाली सरकारी जागिर पाएर आमाबुवाको गरीबी दूर गर्ने भन्ने एउटै सपना बोकेर बढि रहेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !