जनकपुरधाम, चैत १५ गते । मिथिलाको महाकुम्भ भनिएको १५ दिवसीय माध्यमिकी परिक्रमा अन्तगृह परिक्रमामा परिणत भई विधिवत रुपमा सम्पन्न भएको छ ।
फाल्गुन औंसीको दिनदेखी विधिवत रुपमा सुरु भई नेपाल र भारतको १५ वटा विश्राम स्थलहरुमा भगवान श्रीराम जानकीको डोलासंगै लाखौं श्रद्धालुको सहभागितामा घुमिएका माध्यमिकी जनकपुरधाममा अन्तगृह परिक्रममा घुमेर आइतवार सम्पन्न भएको हो ।
फागुन औंसीको दिन धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोला तथा जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजीको डोला सहित माध्यमिकी परिक्रमा शुरु भएको माध्यमिकी परिक्रमा नेपालका १३ र भारतको २ सहित जम्मा १५ वटा विश्रामस्थल सहित जम्मा १ सय ३३ किलोमीटरको पदयात्रा गरेका छन ।
अन्य वर्ष जस्तै यसवर्षपनि माध्यमिकी परिक्रमामा नेपालका विभिन्न स्थानका साथै भारतका सीमावर्ती क्षेत्र सहित अध्योध्या, दरभंगा, सितामढी, पटना लगायत कयौं ठाउँका श्रद्धालु भक्तजनहरु सहभागी भई नांगो खुट्टाले पदयात्रा गरेको देखिएको छ ।
अन्तगृह परिक्रमाको भोली पल्ट होली मनाउने परम्परा अनुसार यसवर्ष होली भोली सोमवार तराई मधेशमा अन्य वर्ष जस्तै मनाइने भएको छ । धार्मिक नगर जनकपुरधामको परिक्रमा गर्ने परम्परा अनुसार होलीको पुर्व सन्ध्यामा अन्तगृह परिक्रमा गरिदै आएको छ ।
परिक्रमाको प्रारम्भ र महत्व
मिथिलामा गरिने यस लामो पदयात्रा परिक्रमाको प्रारम्भ बारे कतै उल्लेख भएको पाइदैन यद्यपि भगवान गणेशद्वारा तीनै लोकको परिक्रमाको क्रममा माता पार्वती र पिता महादेवको परिक्रमा गरेको धर्मग्रन्थहरुमा उल्लेख पाइन्छ ।
हुनत मिथिला मध्यमा परिक्रमा सम्बन्धमा मिथिला महात्ममा चर्चा भएको पाइन्छ । मिथिला महात्म १८औँ शताब्दीमा लेखिएको मानिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निर्माण गरिएका कलाणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानी यो परिक्रमा यात्रा सुरु गरिएको हो ।
परिक्रमाको इतिहास उल्लेख नभएपनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठले मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ । परिक्रमाको नेतृत्वको विषयलाई लिएर कचुरी मठ र जनक दुलारी मन्दिरबिच मुद्दा समेत चलेको थियो । तर वि.सं. १९९०मा जिल्ला अदालत धनुषाले कचुरी मठकै पक्षमा फैसला सुनाएको थियो ।
धार्मिक मान्यता अनुसार परिक्रमाका यात्रुहरु भारतको कलाणेश्वर, गिरिजास्थान र नेपालको महोत्तरीका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुँदै धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा, करुणा, एक–एक रात विश्राम गरी पुनः कल्याणेश्वर हुँदै पूर्णिमाको अघिल्लो रात जनकपुरधाम सहितका ठाउँमा घुम्ने गर्छन ।
मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ । धनुषा कचुरीका सुखदेव दास परिक्रमामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुन्छ । उनले पक्रिमा पारिवारिक कल्याणका साथै सामाजिक कल्याणका लागि समेत महत्वपूर्ण रहेको बताए ।
सामाजिक कल्याणका साथै नेपाल भारतको सीमावर्ती क्षेत्रको समेत पदयात्रा गरिने भएको कारण दुई देशबीचको फरकपना मेटाई सामाजिक सद्भाव को सन्देश दिने काम यस परिक्रमाले पुरापुर्वकालदेखि गर्दै आएको बात परिक्रमावासीहरुको भनाई छ । फागुन शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने यो धर्मयात्रा सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शनगरे बराबरको फल प्राप्ति हुने विश्वास रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !