लोक समाचारदाता
राजविराज, कात्तिक ७ गते ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय उपाध्यक्ष रणवीर सिंह भनिने रामनारायण यादव सरकारले गरेको लापरवाहीका कारण प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेको छ ।
सप्तरी जिल्ला अदालतबाट विस्फोटक पदार्थसम्बन्धी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकिएपछि प्रहरीले उनलाई मोस्ट वाण्टेड (फरार) सूचीमा राखेका छन ।
वि.सं. २०६९ मंसिर २६ गते कर्तव्य ज्यान, आगलागी र डाँका मुद्दामा पक्राउ परेका सप्तरीको साबिक रमपुरा मल्हनिया गाविसका कमलेश यादव भनिने किसन यादवको बयानका आधारमा सप्तरी प्रहरीले रणवीर सिंह भनिने रामनारायणको खोजी कार्य शुरु गरेको थियो । तर राजनीतिक दबावका कारण उनलाई फरार सूचीमा राखेर फाइल थन्काइयो ।
जुन बेला उनीमाथि अदालतबाट सजाय तोकिएको थियो त्यो बेला रामनारायण तराईमा भूमिगत सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा रणवीर सिंह समूहका केन्द्रीय अध्यक्षको रुपमा परिचित थिए ।
अदालतबाट सजाए तोकिएपछि भूमिगत समूह र नेपाल सरकारबीच वार्ता पश्चात उनी सार्वजनिक भएका थिए । सार्वजनिक भएको केही दिनपछि उनी नेपाल सद्भावना पार्टीमा प्रवेश गरी औपचारिक रुपमा राजनीतिक यात्रा शुरु गरेका हुन । सरकार सँग वार्ताको बेला फौजदारी अभियोग लगायतका मुद्दा खारेज गरिने सहमति समेत भएको थियो । तर सरकारले सो मुद्दा खारेज नगरेको कारण आजसम्म उनी फरार सूचीमै रहेका छन ।
कमलेशले रामनारायण लगायतसँग सुरक्षाकर्मीको गाडीलाई लक्षित गरी हनुमाननगर–कुनौली सडक खण्डभन्दा १ किलोमिटरपूर्व पुलनजिक सडकमा बम गाडेको बयानबाट बम भेटिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले विस्फोटक पदार्थसम्बन्धी मुद्दामा रामनारायणलाई समेत विपक्षी बनाउँदै पक्राउ गर्न मातहतको इलाका प्रहरी कार्यालय सखडालाई २०६९ पुस ३ गते पत्राचार गरेको थियो ।
तर रामनारायणलाई प्रहरीले पक्राउ गर्न नसकेपछि त्यस लगत्तै जिल्ला अदालत सप्तरीले उनको नाममा म्याद जारी गरेको थियो । तर जारी भएको म्याद २०७० जेठ १ गते तामेली भए पनि रामनारायण अदालतमा उपस्थित नभएको जिल्ला अदालत सप्तरीका स्रेस्तेदार दिलकुमार बर्देवाको भनाई छ ।
प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत रामनारायणमाथि विस्फोटक पदार्थ सम्बन्धी ऐन २०१८ को दफा ४ ९१० बमोजिमको अभियोग लगाउँदै सजायको माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरियो । सो मुद्दामा २०७१ वैशाख १७ गते सप्तरी अदालतका तात्कालीन न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले रामनारायण र कमलेश दुवैलाई जनही १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !