जनकपुरधाम । महिलाको आर्थिक आत्मनिर्भरता, सामाजिक न्याय र निर्णय प्रक्रियामा सहभागिता बढाउन सञ्चालित कार्यक्रमका उपलब्धिलाई स्थानीय सरकारको नियमित कार्ययोजनामा समेट्नुपर्नेमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमको समीक्षा तथा समापन समारोहमा सहभागीहरूले महिला सशक्तीकरणका क्षेत्रमा भएका प्रयासलाई परियोजनाको अवधिसँगै सीमित नराखी दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्ने बताएका हुन् ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको अध्यक्षतामा भएको कार्यक्रममा महिलाको नेतृत्व विकास, आर्थिक उपार्जन, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक कुरीतिविरुद्ध समुदायमा देखिएका परिवर्तनबारे छलफल गरिएको थियो ।

युरोपेली युनियनको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरूको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा सहभागी महिलाहरूले सीपमूलक तालिम, उद्यमशीलता र अधिकारसम्बन्धी सचेतनाले आफूहरूलाई आत्मनिर्भर बन्न तथा सामाजिक समस्याविरुद्ध आवाज उठाउन सहयोग पुगेको अनुभव सुनाए ।
बालविवाह, दाइजो प्रथा र महिलामाथि हुने विभेदविरुद्ध समुदायस्तरमा सक्रिय अञ्जली राम, रञ्जु ठाकुर र अम्बिका मण्डलले यस्ता कुरीतिविरुद्ध महिलाहरू आफैँ अग्रसर हुन थालेको बताए ।
त्यसैगरी मिथिला चित्रकला, ब्युटी पार्लर तथा कपडा व्यवसायमा संलग्न महिलाहरूले सीप र व्यवसाय सञ्चालनका अवसरले आम्दानीको स्रोत विस्तार गर्न सहयोग पुगेको बताए ।
मनीषा शर्मा, स्मृति बस्नेत, बिन्दु पण्डित, काजल झा, आस्मिन र सम्झना वर्माले आर्थिक गतिविधिमा महिलाको सहभागिता बढाउन सीपसँगै बजार पहुँच र व्यवसाय प्रवर्द्धन आवश्यक रहेको धारणा राखे ।
स्थानीय शासनमा महिलाको सहभागिता विस्तारलाई पनि कार्यक्रमको उपलब्धिका रूपमा प्रस्तुत गरिएको थियो । वडा नं. १ का महिला वडा सदस्य सतिया देवी सदा र शारदा पन्तले स्थानीय योजना तथा नीति निर्माणमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषय उठाउन कार्यक्रमले सहयोग गरेको बताए ।
उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले कार्यक्रमबाट प्राप्त उपलब्धिलाई व्यवहारमा कायम राख्न स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको बताए । उनले सकारात्मक अभ्यासलाई संस्थागत गर्न उपमहानगरपालिकाले आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उपप्रमुख किशोरी साहले महिला तथा किशोरीको क्षमता विकास, लैङ्गिक हिंसा नियन्त्रण, आर्थिक आत्मनिर्भरता र समावेशी शासन प्रणाली निर्माणमा कार्यक्रमले योगदान पुर्याएको बताए ।
बालविवाह तथा दाइजोविरुद्धको चेतना, विद्यालय छाडेका किशोरकिशोरीलाई पुनः शिक्षामा जोड्ने प्रयास र महिलाको उद्यमशीलता विकासलाई उनले महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे ।
समारोहमा कार्यक्रमबाट विकसित संरचना र अभ्यासलाई निरन्तरता दिन आमा समूह, किशोरी तथा युवा सञ्जाल र सामुदायिक मनोसामाजिक सहजकर्ताको क्षमता अभिवृद्धि गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।
साथै, कार्यक्रमअन्तर्गत स्थापित सेवा तथा सन्दर्भ प्रणालीलाई उपमहानगरपालिकाको नियमित कार्यप्रणालीमा समावेश गरी समुदायको अपनत्व बढाउनुपर्नेमा जोड दिइएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !