जनकपुरधाम । जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुन लागेको सीधा रेल सेवाको टिकट बुकिङ सुरु भएको छ। आगामी शनिबारदेखि व्यावसायिक सेवा सञ्चालन गर्ने तयारीसँगै बिहीबार दिउँसो ३ बजेदेखि जनकपुरधामबाट पनि टिकट बुकिङ खुला गरिएको हो।
नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जनकपुरधामस्थित टिकट काउन्टरबाट टिकट बुकिङ सुरु गरिएको जानकारी दिएका छन्। उनका अनुसार हाललाई टिकट काउन्टरबाटै टिकट लिने व्यवस्था गरिएको छ। अनलाइनमार्फत टिकट लिन चाहने नेपाली यात्रुले भने भारतीय रेल्वेको प्रणाली प्रयोग गर्न सक्नेछन्।
गत मंसिर ७ गते नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गरेका थिए। उद्घाटनपछि ‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको रेल अयोध्याबाट मंसिर ८ गते जनकपुरधाम आइपुगेको थियो। जनकपुरधामबाट फर्किएपछि यही रेल शनिबारदेखि नियमित व्यावसायिक यात्राका लागि अयोध्यातर्फ प्रस्थान गर्नेछ।
भारतीय रेल्वेले दुई दिनअघि नै टिकट बुकिङ खुला गरिसकेको भए पनि नेपालतर्फको टिकट बिक्री बिहीबारदेखि मात्र सुरु भएको हो।
चार श्रेणीमा टिकट, न्यूनतम भाडा ३६0 रुपैयाँ
भारतीय रेल्वेले यात्रुको सुविधालाई ध्यानमा राख्दै चार श्रेणीका टिकट उपलब्ध गराएको छ। हाल जनरल टिकटको व्यवस्था भने गरिएको छैन। शयनयान (स्लीपर), वातानुकूलित तृतीय इकोनोमी (थ्रीई), वातानुकूलित तृतीय श्रेणी (थ्रीए) र वातानुकूलित द्वितीय श्रेणी (टूए) गरी चार श्रेणीमा यात्रा गर्न सकिनेछ।
भारतको रेल्वे मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शयनयान (स्लीपर) : ३६0 भारतीय रुपैयाँ, वातानुकूलित तृतीय इकोनोमी (थ्रीई) : ८७५ भारतीय रुपैयाँ, वातानुकूलित तृतीय श्रेणी (थ्रीए) : ९५५ भारतीय रुपैयाँ र वातानुकूलित द्वितीय श्रेणी (टूए) : १ हजार ३४५ भारतीय रुपैयाँ भाडा दर रहेको छ । उक्त भाडादरमा रिजर्भेसन शुल्क र वस्तु तथा सेवा कर (जीएसटी) समेत समावेश गरिएको छ।
नेपाली यात्रुले टिकट काट्दा नेपाल सरकारले जारी गरेका परिचयपत्रमध्ये कुनै एक अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ। नेपाली नागरिकता, राहदानी वा मतदाता परिचयपत्रका आधारमा टिकट लिन सकिने व्यवस्था गरिएको छ।
प्रबन्ध सञ्चालक पराजुलीका अनुसार नेपाल रेल्वेको टिकट काउन्टरबाट जनकपुरधाम–अयोध्या मात्र नभई भारतका अन्य जुनसुकै गन्तव्यका लागि समेत टिकट बुकिङ गर्न सकिने सुविधा उपलब्ध गराइएको छ।
अनलाइनबाट टिकट लिन चाहनेले भारतीय रेल्वेको एपमार्फत टिकट सुरक्षित गरी नेपाल रेल्वेसँग समन्वय गरेर तोकिएको खातामा रकम जम्मा गर्न सक्नेछन्। यद्यपि, हाल नेपालतर्फबाट टिकट बिक्रीको मुख्य व्यवस्था काउन्टरमै केन्द्रित रहेको पराजुलीले बताए।
नेपाल रेल्वेलाई कमिसन मात्रै
जनकपुरधाम–अयोध्या रेल सेवामा कुल १७ वटा डिब्बा रहनेछन्। जसमा वातानुकूलित द्वितीय श्रेणीका दुई, वातानुकूलित तृतीय श्रेणीका तीन, तृतीय इकोनोमी श्रेणीका तीन, शयनयान श्रेणीका सात तथा एसएलआरका दुई डिब्बा समावेश छन्।
यो रेल सेवा सञ्चालनमा सहजीकरण गरेबापत नेपाल रेल्वेले फ्यासिलिटिज तथा टिकटिङ कमिसन मात्रै प्राप्त गर्ने बुझिएको छ। आर्थिक दृष्टिले नेपाल रेल्वेलाई ठूलो प्रत्यक्ष लाभ नदेखिए पनि नेपाली यात्रुले जनकपुरधामबाटै भारतका विभिन्न गन्तव्यसम्मको टिकट लिन पाउने सुविधा महत्त्वपूर्ण उपलब्धि भएको स्थानीयको भनाइ छ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !