जनकपुरधाम । धनुषाको लक्ष्मिनिया गाउँपालिका–४, सपही निवासी रामनारायण साहमाथि लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको नाम र आडमा ठगी तथा मिटरब्याज कारोबार गरेको आरोप लगाइएके छ ।
साहले बीमा गराउने प्रलोभन देखाएर सर्वसाधारणलाई ऋणको पासोमा पार्ने र पछि तमसुकका आधारमा उनीहरूको जग्गा कब्जा गर्न खोज्ने गरेको पीडितहरूको आरोप छ ।
बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै तीन महिलाले साहबाट आफूहरू ठगीमा परेको दाबी गर्दै न्यायका लागि सम्बन्धित निकायसँग गुहार गरेकी छिन् ।
पत्रकार सम्मेलनमा उपस्थित पीडितमध्येकी लक्ष्मिनिया गाउँपालिका निवासी पुनम देवी साहले वैदेशिक रोजगारीमा रहेका आफ्ना श्रीमान् सञ्जयकुमार साहलाई साहले विभिन्न प्रलोभन देखाएर एलआईसीको बीमा गराइदिएको बताइन् । पछि बीमाको किस्ता तिर्न नसक्दा बाँकी रहेको दुई लाख ४२ हजार रुपैयाँ आफूले तिरिदिने र पछि बीमाको रकमबाट ऋण मिलाइदिने भन्दै तमसुक गराएको उनको भनाइ छ ।
’श्रीमानले तत्काल पैसा नभएको र पछि तिर्ने बताएपछि उनले आफूले नै किस्ता तिरिदिने भन्दै तमसुक गराए। तर अहिले आएर मेरो जग्गा नै कब्जा गर्न खोजिरहेका छन्,’ पुनमले भनिन् ।
उनका अनुसार आफूले ऋणबापत लिएको भनिएको रकम एक वर्षभित्रै चुक्ता गरिसकेकी छन् । तर साहले ब्याजसहित साढे नौ लाख रुपैयाँ ऋण भनी ११ लाख ९८ हजार ८०० माग दाबी गर्दै पुनमदेवीको जग्गा रोक्का गराएका छन् । ऋण चुक्ता गरेपछि बीमा रकममा ऋण लिन एलआईसीको कार्यालय पुग्दा आफ्नो नाममा कुनै पनि बाँकी किस्ता रकम जम्मा नभएको पनि ऋण पनि पाएन दुखेसो उनले सुनाईन ।
२०७६ सालदेखि नै न्यायका लागि विभिन्न निकाय धाउँदै आएको बताउँदै पुनमले २०७७ सालदेखि मिटरब्याज पीडितका रूपमा तीन पटकसम्म उजुरी दिए पनि सुनुवाइ नभएको गुनासो गरिन् । उल्टै आफ्नो जग्गा रोक्का भएपछि थप पीडित बन्नुपरेको उनको भनाइ छ ।
यस विषयमा साहले जिल्ला अदालत र उच्च अदालतमा पीडितविरुद्ध नै मुद्दा दायर गरेको बताइएको छ। उच्च अदालतको आदेशअनुसार २०७७ सालदेखि पुनमको जग्गामा निषेधाज्ञा जारी भई रोक्का रहेको उनको दाबी छ ।
अदालतबाट समेत न्याय पाउने आशा कमजोर भएपछि पछिल्लो साता जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएको उनले बताइन् । जाहेरीपछि प्रहरीले साहलाई छलफलका लागि बोलाएको र आइतबार उपस्थित हुने सर्तमा छाडिएको भए पनि उनी हालसम्म प्रहरी कार्यालयमा उपस्थित नभएको पीडितहरूको भनाइ छ ।
पुनमका श्रीमान् संजय कुमार साहको बीमालेख नं. १७००८४३०७ रहेको छ भने बीमा अभिकर्ता इजाजत नं. ०२७३६८००७, १७—२१०९ रहेको छ । रु ५ लाखको गरिएको बीमाको अवधि १६ वर्ष रहेको बीमा कार्डमा उल्लेख छ ।
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका–१९ निवासी निर्मला देवी साहले पनि रामनारायण साहले आफूलाई ठगी गरेको आरोप लगाइन्। नातेदारसमेत रहेका साहले आफूलाई ऋणको आवश्यकता नभए पनि दबाब दिएर डेढ लाख रुपैयाँ दिएको र अहिले १२ लाख रुपैयाँ माग गर्दै जग्गा कब्जा गर्न खोजेको उनको आरोप छ।
’मैले लिएको डेढ लाख रुपैयाँ चुक्ता गरिसकेकी छु । ब्याजबापत थप डेढ लाख रुपैयाँसमेत दिइसकेकी छु। तर अहिले १२ लाख रुपैयाँ माग गर्दै मेरो जग्गा अदालतबाट रोक्का गराइएको छ,’ निर्मलाले भनिन् ।
उनका अनुसार आरोपित साह नाताले उनका नन्दका श्रीमानका भाइ हुन्।
अर्की पीडित पुनम देवी ठाकुरले पनि श्रीमान्को नाममा बीमा गराइदिने भन्दै साहले आफूहरूलाई ठगी गरेको आरोप लगाइन् । उनका अनुसार सुरुमा श्रीमान्को बीमा गरिदिने भन्दै विश्वासमा पारेपछि किस्ता रकम तिर्ने बहानामा तमसुक गराइएको थियो। तर अहिलेसम्म आफू वा श्रीमान्ले बीमासम्बन्धी कुनै कागजात तथा किस्ता भुक्तानी गरेको प्रमाण नपाएको उनले बताइन् ।
’बीमाको किस्ता तिरिदिने भन्दै मेरो श्रीमान्लाई मदिरा सेवन गराएर तमसुक गराइएको रहेछ। त्यसबेला के कागजमा हस्ताक्षर गराइयो भन्ने उहाँलाई समेत थाहा भएन। अहिले रकम बाँकी रहेको भन्दै हाम्रो जग्गा कब्जा गर्न खोजिएको छ,’ उनले भनिन् ।
पीडितहरूका अनुसार रामनारायण साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा चारवटा जाहेरी परेका छन्। यस विषयमा गाउँमा पटक–पटक पञ्चायतसमेत बसे पनि साहले पञ्चायतीको निर्णय कार्यान्वयन नगरेको उनीहरूको आरोप छ ।
बीमा गराउने नाममा ऋण तथा तमसुकको जालोमा पारेर जग्गा रोक्का गराउने कार्य भएको भन्दै पीडित महिलाहरूले निष्पक्ष छानबिन गरी आफूहरूलाई न्याय दिलाउन प्रहरी प्रशासन, सम्बन्धित सरकारी निकाय र एलआईसी नेपालको ध्यानाकर्षण गराएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !