जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोज कुमार यादव दोश्रो पटक मधेस प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन् । उनी संविधानको धारा १६३ (३) बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा जसपा नेपालबाट दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
यादव यसअघि पनि मुख्यमन्त्री बनेका थिए । जसपा नेपालबाट मधेस प्रदेशको तेश्रो मुख्य मन्त्री बनेका छन् । उनी यस प्रदेशको पहिलो सभामुख पनि बनेका थिए ।
को हुन मुख्यमन्त्री यादव
बारा –१ (ख) बाट लगातार दुई÷दुई पटक प्रदेश सभा सदस्यमा निर्वाचित यादव दोश्रो पटक मुख्यमन्त्रीमा निर्वाचित भएका हुन् । यस क्षेत्रबाट उनी पहिलो पटक २०७४ मा राजापाबाट निर्वाचित भएका थिए । त्यस बेला संघीय समाजवादी फोरम (ससफो) र जसपाको संयुक्त सरकार गठन हुँदा यादव सभामुख बनेका थिए ।
पहिलो पटक उनी २०७९ साल पुस २९ गते बुधबार ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । झण्डै एक वर्ष ५ महिनाको सरकार चलाएका यादव २०८१ साल जेठ २३ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त भएका थिए ।

उनी पहिलो कार्यकालमा चार पटक विश्वासको मतमा सफल भइसकेपछि पाँचौ पटक ५४ मत पाउनुपर्नेमा मात्र ५० मत्र पाएपछि असफल भएका थिए । त्यो बेला उनलाई कांग्रेस र तत्कालिन लोसपा पार्टीले सहयोग गरेका थिए । उनको विपक्षमा नेकपा एमाले, तत्कालिन माओवादी केन्द्र, जनमत पार्टी र नेकपा एसले विपक्षमा मत हालेका थिए ।
बुबा परमान्नद प्रसाद यादव र आमा सिकिल देवीको सन्तानका रुपमा २०२८ माघ १० गते बाराको सिमरौनगढ नगरपालिका–३ मा जन्मिएका यादव निरन्तर राजनितिक पदमा रहदै आएका व्यक्ति हुन् ।
प्रमाणपत्र तहसम्म अध्ययन गरेका यादव मधेशवादी र गणतन्त्रवादी नेता स्व. गजेन्द्र नारायण सिंहसँगै राजनीति थालेका हुन् । बारा जिल्लाकै फेटा फुलबरियाकी सकुन्तला देवी यादवसंग विवाह बन्धनमा बाँधिएका यादवको तिन छोरी र दुई छोरा गरि कुल पाँच सन्तानहरु छन् ।
उनको राजनीतिक यात्रा पहिलो पटक २०५४ मा हरिहरपुर गाविसको अध्यक्षमा पदमा निर्वाचित भएदेखि शुरु भएको हो ।

२०६४ सालको पहिलो संविधान सभामा बारा –१ बाट संविधानसभा सदस्यमा निर्वाचित नेता यादव २०६६ सालमा पहिलो पटक एमालेका महासचिव माधव कुमार नेपालको नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ती राज्यमन्त्री बनेका थिए ।
२०६८ सालमा भएको निर्वाचनमा उनी पुनः निर्वाचन जितेर । दोश्रो पटक डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्न सफल भए । उनी राज्य मन्त्री बनेको दुवै कार्यकालमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मन्त्री र उनी सोहि मन्त्रालयका राज्यमन्त्री बनेकाले महतोसँग नजिकिए ।
पार्टीमा उनी २०६९ सालमा तत्कालीन सद्भावना पार्टीको महासचिव र २०७३ सालमा उपाध्यक्ष भएका यादव राजपा नेपालको गठनपछि पनि उपाध्यक्ष थिए । राजपा उपेन्द्र यादव नेतृत्वको ससफो पार्टीबीच एकतापछि जसपा बनेको थियो । त्यतिबेला उनी सभामुख थिए ।

जसपाबाट महन्थ ठाकुर समूह अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गर्दा उनी सभामुख थिए । सभामुख स्वतन्त्र हुन्छन् भनेर उनी मौन बसे । न महन्थ ठाकुर न उपेन्द्र यादवलाई रोजे ।
पछि उनी उपेन्द्र यादवकै पार्टी जसपासँग नजिकिए । र, आम निर्वाचनमा जसपाकै टिकटबाट पुनः निर्वाचन जित्न सफल भए । जसपा नेपालको संसदीय दलको नेता हँुदै यादव मधेस प्रदेशको दोस्रो पटक मुख्यमन्त्री बनेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !