जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी सभापतिमा पुनः उम्मेदवारी दिन आफूलाई मधेश प्रदेशका नेता कार्यकर्ताहरुबाट चौतर्फी दबाव आइरहेको बताएका छन् । उम्मेदवारीका लागि दबाब बढेपछि आफू सभापतिको प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेको उनले बताएका छन् ।
शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै निधिले आफूहरू पार्टीको विधान र विधिसम्मत प्रक्रियाको पक्षमा रहेको दाबी गरे । पार्टीको विधानविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै उनले अहिले चर्चामा रहेको कथित महाधिवेशनलाई विधानसम्मत मान्न नसकिने टिप्पणी गरे ।
उनले वडा तहदेखि प्रदेश तहसम्मका सबै अधिवेशन सम्पन्न भएपछि मात्रै राष्ट्रिय महाधिवेशनमा सहभागी हुने स्पष्ट पारे । यसैक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्तासँग छलफल गर्न बर्दिबासमा बैठक आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
निधिका अनुसार कांग्रेसको १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुनेछ । महाधिवेशनको उद्घाटन समारोह टुँडिखेलमा र निर्वाचनसम्बन्धी कार्यक्रम राष्ट्रिय सभागृहमा सञ्चालन गर्ने तयारी गरिएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनका लागि पार्टीले तयारीलाई तीव्रता दिएको उनले बताए ।
महाधिवेशनको पूर्वतयारीस्वरूप पार्टीले विभिन्न तहका अधिवेशन अघि बढाइरहेको छ । निधिले दिएको जानकारीअनुसार देशका १६५ निर्वाचन क्षेत्रमध्ये १४४ क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । त्यसैगरी ७७ जिल्लामध्ये ५२ जिल्लामा जिल्ला अधिवेशन पूरा भएको छ भने अन्य जिल्लामा प्रक्रिया जारी छ ।
यसै अवसरमा निधिले सातै प्रदेशको अधिवेशन कार्यक्रम पनि सार्वजनिक गरेका छन् । निर्धारित कार्यतालिकाअनुसार गण्डकी प्रदेशको मंसिर ५ गते पोखरा, लुम्बिनीको मंसिर ७ गते दाङको भालुवाङ र कर्णालीको मंसिर १३ गते सुर्खेतमा अधिवेशन हुनेछ ।
त्यस्तै, मधेश प्रदेशको अधिवेशन मंसिर १४ गते जनकपुरधाममा, सुदूरपश्चिमको मंसिर १५ गते धनगढीमा, कोशी प्रदेशको मंसिर १७ गते विराटनगरमा र बागमती प्रदेशको मंसिर १९ गते काठमाडौंमा आयोजना गरिनेछ ।
मधेश प्रदेशको अधिवेशनलाई प्रभावकारी बनाउन बर्दिबासमा विशेष तयारी बैठक बस्ने निधिले बताए । बैठकमा प्रदेशका आठवटै जिल्लाका सभापति, ३२ निर्वाचन क्षेत्रका प्रतिनिधि तथा केन्द्रीय पदाधिकारी र सदस्यहरूको सहभागिता रहनेछ ।
मधेश प्रदेशका संयोजक पद्मनारायण चौधरीसहितको उपस्थितिमा हुने उक्त बैठकमा अधिवेशनको तयारी, व्यवस्थापन र संगठनात्मक अवस्थाबारे छलफल गरिने उनले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !