जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७ देवडिहाबाट दस दिनअघि बेपत्ता भएका सात वर्षीय बालक साकेत झाको शव क्षतविक्षत अवस्थामा फेला परेपछि प्रहरीको खोजी तथा अनुसन्धान प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ ।
विजयादशमीकै दिन गत कार्तिक ४ गते घरबाट निस्किएर बेपत्ता भएका बालकको खोजीमा परिवार र प्रहरी सक्रिय रहेको बताइए पनि दस दिनसम्म उनको अवस्था पत्ता लाग्न सकेन । अन्ततः बेपत्ता भएको स्थानबाट करिब दुई किलोमिटर उत्तरतर्फको धान खेतमा शनिबार उनको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बालकको शव धान खेतमा क्षतविक्षत अवस्थामा भेटिएको हो ।
स्थानीय अजय झाका छोरा साकेत हराएपछि परिवारजनले खोजीका लागि प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि आसपासका गाउँबस्ती, पोखरी तथा झाडीहरूमा समेत खोजी गरिएको बताइएको छ । तर, दस दिनसम्म बालकको अवस्था पत्ता लाग्न नसक्नु र अन्ततः हराएको स्थानबाट करिब दुई किलोमिटर दूरीमै शव भेटिनुले खोजी कार्यको प्रभावकारितामाथि स्वाभाविक रूपमा प्रश्न खडा गरेको छ ।
बालक हराएको सूचना पाएपछि प्रहरीले कुन–कुन क्षेत्रमा कसरी खोजी गर्यो रु सम्भावित घटनास्थलको पहिचान गर्न किन लामो समय लाग्यो रु खोजीका क्रममा धान खेतलगायत आसपासका क्षेत्रमा पर्याप्त अनुसन्धान भएको थियो कि थिएन रु यस्ता प्रश्नको जवाफ प्रहरीले सार्वजनिक गर्नुपर्ने देखिएको छ ।
सात वर्षीय बालक दस दिनसम्म बेपत्ता रहँदा उनको अवस्था पत्ता लगाउन नसकिएको घटनाले खोजी तथा उद्धार प्रक्रियामा प्रहरी गम्भीर नभएको भन्ने आलोचना समाजिक सञ्जालमा व्यापक भइरहेको छ । प्रहरीले अनुसन्धानमा सक्रियता देखाएको भए यस्तो दुःखद घटना हुने थिएन भन्ने आवाज पनि उठ्न थालेको छ ।
हालसम्म बालकको मृत्युको कारण, शव क्षतविक्षत हुनुको अवस्था तथा घटनामा अन्य कसैको संलग्नता रहे–नरहेको विषय स्पष्ट हुन सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
घटनाको वास्तविकता पत्ता लगाउन शव परीक्षणको प्रतिवेदन, घटनास्थलको प्राविधिक अनुसन्धान तथा सम्भावित संलग्न व्यक्तिहरूमाथिको अनुसन्धान महत्त्वपूर्ण हुने देखिन्छ ।
दसैँको खुसीयालीकै दिनदेखि बेपत्ता भएका बालकको शव फेला परेपछि देवडिहा गाउँ शोकमा डुबेको छ । घटनाले एउटा परिवारको खुसी मात्र खोसेको छैन, बालबालिकाको सुरक्षा र बेपत्ता व्यक्तिको खोजीमा प्रहरीको कार्यक्षमतामाथि समेत गम्भीर बहस सिर्जना गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !