जनकपुरधाम । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) को तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि जनकपुरधाममा सुरु हुने भएको छ । ‘हामी सबै मिलेर उत्कृष्ट विद्यालय निर्माण गरौँ’ भन्ने नारासहित आयोजना गर्न लागिएको र सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्यान मधेश प्रदेशका अध्यक्ष संजयकुमार झाले जानकारी दिएका छन् ।
बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झाले विद्यालय शिक्षाको गुणस्तर सुधार, शैक्षिक नेतृत्वको क्षमता अभिवृद्धि र नवीन शिक्षण पद्धतिको विकासलाई सम्मेलनको मुख्य एजेन्डा बनाइएको बताए ।
उनका अनुसार सम्मेलनमा देशभरका विद्यालयका प्रधानाध्यापक तथा विद्यालय प्रमुख, शिक्षाविद्, नीति निर्माता, सांसद र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
सम्मेलनको दोस्रो दिन शनिबार विद्यालय शिक्षामा नीतिगत सुधार, नेतृत्व विकास र नवप्रवर्तनका विषयमा केन्द्रित रहेर विभिन्न छलफल तथा प्रस्तुतिहरू सञ्चालन गरिने कार्यक्रम छ । यस क्रममा ‘नीतिगत सुधारमार्फत उत्कृष्ट विद्यालय निर्माण’ विषयमा राष्ट्रिय संसदीय गोलमेच छलफल हुनेछ । उक्त छलफलमा विभिन्न राजनीतिक दलका सांसद तथा शिक्षाविद्हरू सहभागी हुनेछन् । डा. विद्यानाथ कोइराला, डा. महाश्रम शर्मा र डा. प्रीति मण्डलले छलफल सहजीकरण गर्नेछन् ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झाले ‘उत्कृष्ट विद्यालयका लागि राष्ट्रिय दृष्टिकोण’ विषयमा आफ्नो धारणा प्रस्तुत गर्नेछन् । उक्त सत्रमा नेपालको विद्यालय शिक्षाको अवस्था, विद्यमान समस्या र सुधारका सम्भावनाबारे बहस हुनेछ ।
सम्मेलनमा आठवटा विषयगत समानान्तर सत्रसमेत सञ्चालन हुनेछन् । विद्यालय सुरक्षा, जलवायुमैत्री शिक्षा, शैक्षिक नेतृत्व, शिक्षामा कृत्रिम बुद्धिमत्ताको प्रयोग, आधारभूत गणित तथा साक्षरता, विद्यार्थी सहभागिता, डिजिटल कक्षाकोठा, रोबोटिक्स र विपद् व्यवस्थापनजस्ता विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा युनेस्को, जाइका तथा अमेरिकी दूतावासको क्षेत्रीय अंग्रेजी भाषा कार्यालयलगायतका संस्थाका प्रतिनिधि, शिक्षाविद् र प्राविधिक विज्ञहरूको सहभागिता रहनेछ । साथै, सार्वजनिक र निजी विद्यालयबीच सहकार्य विस्तार गर्ने तथा एकअर्काका सफल अभ्यास र अनुभव आदानप्रदान गर्ने उद्देश्यले छुट्टै गोलमेच छलफल पनि राखिएको छ ।
शनिबार दिउँसो सम्मेलनको औपचारिक समापनपछि प्यानको राष्ट्रिय परिषद् बैठक आयोजना हुनेछ । बैठकमा संस्थाको आगामी रणनीति, नीतिगत प्राथमिकता, भावी कार्ययोजना र संगठनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिने अध्यक्ष झाले बताए ।
सम्मेलनको अन्तिम दिन आइतबार ‘जनकपुर घोषणापत्र’ जारी गरिनेछ । विद्यालय शिक्षाको समग्र सुधारका लागि आवश्यक सामूहिक प्रतिबद्धता, नीतिगत सुझाव तथा कार्यान्वयन गर्न सकिने प्राथमिकताहरू घोषणापत्रमा समेटिने प्यान मधेश प्रदेशका अध्यक्ष झाले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !