जनकपुरधाम, असार १२ गते । मधेश प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको जनकपुरधामस्थित स्वर्गद्वारमा निर्माण हुन लागेका विद्युतिय शवदाह गृह जग्गाको प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले स्थलगत निरिक्षण गरेका छन् ।
बिहीवार दिउंसो मन्त्रालयका निमित सचिव रामकुमार खंग, खानेपानी महाशाखाका लक्ष्मीप पन्त र सम्झना लामिछानेसहितका टोलीसंगै मन्त्री यादवले जनकपुरधाम वडा नम्बर ४ स्थित गंगासागर पोखरीको डिलमा निर्माण हुन लागेको विद्युतिय शवदाहगृह निर्माण हुने जग्गाको निरिक्षण गरेका हुन ।

स्वर्गद्वारको पछाडिपट्टि बच्चाहरुलाई संस्कार गर्ने जग्गा मध्येबाट करीब ३ कट्ठामा सो विद्युतिय शवदाह गृह निर्माण गरिने भएको छ । मन्त्री यादवसँगै मन्त्रालयका टोलीलाई स्वर्गद्वारका संरक्षक समेत रहेका पवन सिंघानियाले निर्माणस्थल जग्गाको अवलोकन गराउंदै वर्तमान अवस्था बारे जानकारी गराएका थिए ।

यो विद्युतिय शवदाह गृह निर्माण भएपछि शमशान मध्ये प्रदेशकै पहिलो गौरवको आयोजनाको रुपमा रहनेछ । यसै आर्थिक वर्षदेखि विद्युतिय शवदाहगृहको निर्माण कार्य संचालन गरिने ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले जानकारी दिए ।
आर्थिक, सामाजिक विकास र वातावरण संरक्षणका दृष्टिले विद्युतिय शवदाहगृह प्रदेशका राजधानी जनकपुरधामका विकासका लागि एउटा ऐतिहासिक पहलको शुरुवात रहेको बताउंदै मन्त्री यादवले उनले स्वर्गद्वार अहिले नै एउटा पर्यटकीय स्थलको रुपमा रहेको छ । विद्युतिय शवदाह गृह निर्माणले बढेको सौन्दर्यकरणले झन पर्यटकीय विकास हुने विश्वास व्यक्त गरेका छन् ।

दुई वर्ष भित्र निर्माण हुने सो विद्युतिय शवदाह गृहको अढाई तल्ले भवन, दुईवटा शवदाह ट्रली बेड, भृन्चुरी स्क्रबर, वेट स्क्रबर धुंवा निस्किने चिम्नी र अस्थिलाई व्यवस्थापन गर्ने सहितका वातावरणीय संरचना निर्माणका लागि मन्त्रालयले ११ करोड रुपैया छुट्याएको छ ।
यो शवदाहगृह निर्माणपछि शव दहन गर्ने दाउरा लगायतका सामाग्रीमा १०÷१२ हजार सम्म खर्च पर्ने ठाउंमा बढीमा ३ हजार मात्र खर्च हुने, काठ काटिने रोकंदा जंगल बच्ने र पोलुसन नफैल्ने लगायतका फाईदा हुने निमित सचिव रामकुमार खंगले बताए ।

विद्यमान परम्परागत दाहसंस्कार प्रणालीमा आउने कठिनाइ, खर्च र वातावरणीय असरलाई ध्यानमा राखेर इलेक्ट्रिक शवदाह गृहको विकल्प अपनाइएको बताउंदै उनले यसबाट काठको खपत कम गर्नुका साथै कार्बन उत्सर्जनमा समेत कमी ल्याउने बताए ।
ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले चालु आर्थिक वर्षमा दर्जनौ शमसान स्थल निर्माण तथा सौन्दर्यकरण गराएका छन् भने आगामी वर्षमा समेत शमशान स्थलको सौन्दर्य र निर्माणका लागि बजेट छुटयाइएको छ ।

विद्युतिय शवदाह गृह निर्माण भइसकेपछि सम्बन्धित जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरि कार्यविधि बनाएर स्वर्गद्वार समितिलाई संचालनको जिम्मा दिइने यसअघि जेठ १६ गते सरोकारवालासँगहरुको बैठकमा निर्णय गरिएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !