जनकपुरधाम, २९ मंसिर । श्रीरामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत चौथो दिन शुक्रवार जनकपुरधाममा तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मर्यादा पुरुषोत्तम भगवान श्रीराम र माता जानकीको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाह पञ्चमी महोत्सव मनाइदै आएको छ ।
माता जानकीको माइत पक्ष जानकी मन्दिरबाट बाजागाजासँगै फलफूल र मिठाइसहितका कोसेली बेहुला पक्ष श्रीरामको घरको रुपमा राम मन्दिरमा पठाइएको छ । मिथिला परम्परा अनुसार विवाहअघि मनाइने विभिन्न विधिहरु सहितको कार्यक्रम सप्ताहव्यापी रुपमा मनाइदै आएको हो । जसमा तिलकोत्सव प्रमुख विधि मानिन्छ । विवाह अघि दुल्ही पक्षले बेहुला पक्षलाई आफूखुशी उपहार दिने विधिलाई तिलकोत्सव भनिन्छ ।
भारत अयोध्याबाट आएका जन्ती र भगवान रामको पक्षबाट राम मन्दिरका सन्त महन्थको उपस्थितमा मैथिली भाषाको वैवाहिक लोकगीत र सांस्कृतिक कार्यक्रम गर्दै वैवाहिक विधिअनुसार माइती पक्षले राम मन्दिरमा तिलक चढाएको हो ।
कार्यक्रममा रामको पिताको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिताको भूमिकामा जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास समधी मिलान गरेका छन् ।
सो तिलकोत्सव कार्यक्रममा धनुषा निर्वाचन ३ का निर्वाचित सासद जुली कुमारी महतो, धनुषा ३ को ख बाट निर्वाचित दिपेन्द्र ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, उपमेयर किशोरी साह लगायतको तिलकोत्सवमा सहभागिता रहेको थियो । भोलि शनिवार मटकोर र आइतवार विवाह उत्सवको कार्यक्रम रहेको जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !