जनकपुरधाम, १२ मंसिर । धनुषामा एक शंकास्पद शव फेला परेको छ । जिल्लाको धनौजी गाउँपालिका ४ भडरियास्थित आँपको बगैँचामा शव फेला परेको जनाइएको हो । सो शव महिलाको हो कि पुरुषको यकिन हुन सकेको छैन ।
एक स्थानीयले मंगलवार बिहानै खेततर्फ गएका बेला युवतिलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो । भडरियाको बिचला टोल भन्ने स्थानबाट करिब २०० मिटर उत्तरतर्फ आँपको बगैँचामा युवति मृत अवस्थामा फेला परेको हो । प्रत्यक्षदर्शीका अनुसार, कपडा पहिरनले महिला रहेको देखिएको छ । यद्यपी, महिला वा पुरुष हो भनेर अलमलता छ । प्रहरीले पनि शव महिला हो कि पुरुषको भन्ने प्रष्ट पारेको छैन ।
धनुषाका प्रहरी प्रमुख एसपी दिनबन्धु शर्माको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेका छन् । उनले भने फेला परेको शव महिला हो कि पुरुषको परालले ढाकिएको कारण यकिन हुनसकेको छैन । तर बाहिर फेला परेको चप्पल अनुसार महिलाकै हुनुपर्ने हो ।
एसपी शर्माले भने घटनास्थललाई संरक्षित गरिसकेका छौं । घटना शंकास्पद भएकाले डग टोली पनि मगाएका छौं । घटनाको प्रकृति हेर्दा दुई तिन दिन अगाडी नै हत्या गरी फालिएको देखिएको छ । उमेर भने १७ देखि २० बर्षको बीचमा हुन सक्ने उनको अनुमान छ । सो क्षेत्रबाट अहिलेसम्म कोही युवति वा युवक हराएको, सम्पर्कविहिन भएको घटना प्रहरीमा दर्ता नरहेको प्रहरीको भनाई छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !