जनकपुरधाम, कात्तिक १४ गते । मैथिली विकास कोष जनकपुरधाम र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा भाई–बहिनीको अमिट प्रेमको प्रतीक ‘सामा–चकेवा’ पर्वमा प्रयोग हुने मूर्तिहरू निर्माण सीप विकासका उद्देश्यले पाँच दिने ‘सामा–चकेवा मूर्तिकला निर्माण कार्यशाला’ जनकपुरधाममा प्रारम्भ भएको छ ।
जनकपुरधामस्थित मैथिली विकास कोषको नवनिर्मित भवनमा आयोजित कार्यशालाको उद्घाटन कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षता र इङ्ग्ल्यान्ड निवासी मधेश विषयका अनुसन्धानकर्ता माइकल हट्टको प्रमुख आतिथ्यमा सम्पन्न भयो । उद्घाटन सत्रमा सामा–चकेवा पर्वको सांस्कृतिक महत्व, कलात्मक मूल्य, र परम्परागत कलालाई आधुनिकताको स्पर्शसँग कसरी जोड्ने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।
प्रमुख अतिथि हट्टले सामा–चकेवाजस्ता पर्वहरूले मिथिला क्षेत्रको परम्परागत सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने ठूलो सम्भावना रहेको उल्लेख गर्दै भने, “यस्ता पर्वहरूले दिदी–बहिनी र भाइबीचको सामाजिक सम्बन्धलाई सुदृढ बनाउँछन् र स्थानीय कलाकारहरूको सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिन्छ।” उनले मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि अभिलेखीकरण र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

अध्यक्ष चौधरीले सामा–चकेवा पर्वलाई मिथिलाञ्चलको अमूल्य सांस्कृतिक सम्पदा भन्दै भने, “यो केवल उत्सव मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानको जरा हो। यसले दिदी–बहिनी र भाइबीचको आत्मीय सम्बन्ध र सामाजिक एकताको सन्देश दिन्छ।” उनले मैथिली विकास कोषले स्थानीय कलाकार, युवा र विद्यार्थीहरूलाई परम्परागत मूर्तिकला तथा मिथिलाकला सिक्न निरन्तर प्रेरित गर्दै आएको जानकारी दिए ।
कार्यशालामा विद्यार्थी, युवा र महिलाहरूको उत्साहपूर्ण सहभागिता देखिएको छ । सहभागीहरूले सामा, चकेवा, चुगला, सतभैया, गौरी–शंकर, तथा विवाहपश्चात् ससुराली पठाइने पाहुरका भाँडाकुँडासहितका दर्जनौँ सांकेतिक मूर्तिहरू बनाउन सिकिरहेका छन् ।
भाई–बहिनीको प्रेम र आत्मीयताको प्रतीक सामा–चकेवा पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा दिदी–बहिनीहरूले बाँस वा सिकीको डालामा सामा–चकेवा र अन्य मूर्तिहरू राखी राति गीत गाउँदै डाला घुमाउने परम्परा रहिआएको छ ।

पर्वको अन्तिम दिनमा चुगलाको मुखमा दियोको कालो राईस पोत्ने, र खलनायकका मूर्तिहरू भाइको घुँडामा फोडी सामालाई पाहुरसहित बिदाइ गर्ने चलन रहेको छ । त्यसपछि ती मूर्तिहरू धान काटिएको खेत वा नदीमा विसर्जन गरिन्छ— जसले प्रेम, क्षमा र नयाँ सम्बन्धको प्रतीकात्मक सन्देश दिन्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !