जनकपुरधाम, वैशाख ९ गते । मधेश प्रदेश सभाका सांसदहरुले बिचौलियाहरुलाई कमीशन लिई योजना विक्री वितरण गरेको भन्दै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मातहतका पर्यटन विकास कार्यालय धनुषाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
कार्यालय प्रमुख बासुदेव भट्ट महिनौदेखि कार्यालयबाट गायब भई बाहिर बाहिरैबाट बिचौलियाहरु कमीशन लिई र सम्बन्धित मन्त्रीको कार्यकर्ताहरुलाई योजना वितरण गर्दै आएको आरोप लगाउंदै उनीहरुले आइतवार पर्यटन विकासका कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेका हुन ।

बिचौलियाहरुलाई १०/१० प्रतिशतमा योजना वितरण गर्दै आएको आरोप मधेश प्रदेश सभाका कांग्रेस सांसदहरुको आरोप छ । धर्नामा बसेका ती सांसदहरुले योजनाको उपभोक्ता समिति बनाउने चिट्ठी वडा कार्यालयमा वा सम्बधित उपभोक्ताहरुलाई नपठाई बिचौलियाहरु मार्फत पर्यटन विकास कार्यालयले पठाउने गरेको वडा कार्यालयहरुबाट गुनासो पटक पटक आएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको मधेश प्रदेश सभा सांसद शेषनारायण यादवले बताए ।
उनले भने ‘आफूहरुले कार्यालय प्रमुख भट्टलाई योजनाको चिट्ठी वडा कार्यालयमा वा सम्बन्धित वडाको योजनाको लाभग्राहीलाई चिट्ठी वितरण गर्न पटक पटक भन्दा पनि कुनै चासो नलिएपछि आफूहरु बाध्य भई कार्यालयमा तालाबन्दी गरेका हाै ।’

यस्तै अर्का सांसद संजय महतोले बिचौलियाहरुलाई कमीशन लिई योजना वितरण गरिरहेको गुनासो प्रमुख भट्ट समक्ष राख्दा उनले मन्त्रीजीको आदेशमा उहाँको मान्छेलाई चिट्ठी भनेर जवाफ दिदैं आएकाले तालाबन्दी गरेर धर्नामा बस्न बाध्य भएको बताए ।
बिचौलिया मार्फत चिट्ठी वितरण गर्दा वडा कार्यालयमा सयौं योजनाको चिट्ठी बाटाेमै अलपत्र भई कार्य संचालनमा आउन नसकेको भन्दै उनले वडा कार्यालयमा चिट्ठी पठाई योजनाका सम्बन्धित उपभोक्ताबाट काम गराउने वातावरण बनाउन माग गरेका छन ।
धर्नामा बसेका अर्का सांसद जंगीलाल राय यादवले भने यो कार्यालयले धनुषा, महोत्तरी र सर्लाही सहितका तीनवटा कार्यालय हेर्दै आएकोमा पचासौ/.पचास कोसबाट सेवाग्राहीहरु चिट्ठी लिन दिनहुँ कार्यालय धाई रहेका छन् । तर यहाँ न त कार्यालय प्रमुख भेटदैन । यस्तो बेथिती छ यस कार्यालयको, ती बेथिती दूर गर्न आफूहरु धर्नामा बसेको हुँ ।
शेषनारायण यादव, जंगीलाल राय, संजय महतो र सकुन्तला देवी सहित चारजना सांसद धर्नामा बसेका छन् । धर्नामा बसेका प्रदेश सांसदहरुले प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित मन्त्रीको रोहबरमा वार्तामार्फत कार्यालय प्रमुखले सम्बन्धित वडामा उपभोक्ता समिति सम्बन्धित व्यक्तिलाई पठाउने प्रतिबद्धता नजनाएसम्म आफूहरुको तालाबन्दी जारी रहने चेतावनी दिएका छन् ।
यसअघि वडाअध्यक्षहरुले पनि वडा कार्यालयमै वा सम्बन्धित वडाको व्यक्ति मार्फत योजनाको चिट्ठी पठाउन माग गर्दै सो कार्यालयमा तालाबन्दी गरेका थिए । कार्यालय कर्मचारी श्रोतका अनुसार कार्यालय प्रमुख एक/डेढ महिनादेखि कार्यालय गएएका छैनन् । मन्त्रालयबाटै र डेरा राखेको महोत्तरीको बर्दिबासबाट काम गर्दै आएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !