जनकपुरधाम, २० मंसिर । हत्या गरिएको भनिएका आरती साह प्रकरणमा उनका पति मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश उल्ट्याउँदै आज आरतीका श्रीमान मोतीबाबुलाई थुनामा पठाउने आदेश दिएको हो । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोकमा आरती मृत फेला परेकी थिइन् ।
माइती पक्षले आरतीको हत्या श्रीमान र ससुराले दाइजोको निहुँमा गरेको आरोप लगाएको छ । आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएको थियो । आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना बसेका छन् । धर्ना बस्दा पनि सरकारले न्याय दिन नसकेपछि मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमा आज बहसपछि आरतीको श्रीमानलाई थुनामा पठाउने आदेश दिएको छ ।
आरतीको हत्या भएको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरीसमेत दिएको थियो । त्यसपछि प्रहरीले आरतीका श्रीमान मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान पनि गरेको थियो । उनीहरुविरुद्ध जिल्ला अदालत धनुषामा जिल्ला सरकारी वकिल कार्यालयले असार १ मा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।
अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पनि पठाएको थियो । तर, उच्च अदालत जनकपुरधामको आदेशपछि आरतीका पति र ससुरा रिहा भए । त्यसपछि आरतीका आमा, बुवा र बहिनी काठमाडौं पुगेर धर्ना दिदै आएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !