जनकपुरधाम, साउन १७ गते । मधेश प्रदेशका पूर्व तथा वर्तमान सांसदहरुले समानुपातिकका महिला र दलित सांसदहरुलाई संसदीय बजेटदेखि रोस्टममा बोल्नेसम्म विभेद गर्दै आएको अनुभव सुनाएका छन् ।
बुधवार प्रदेश सभाको समन्य र यूएनडीपीको सहयोगमा सिआईसीद्वारा जनकपुरधाममा आयोजित अनुभव आदान प्रदान कार्यक्रममा पूर्व तथा वर्तमान सांसदहरुले समानुपातिक सांसदहरुलाई सम्बन्धित पार्टी र सरकारले हेप्ने गरेको भने ।
कार्यक्रममा सहभागी सबै समानुपातिक सांसदहरुले सरकारले समानुपातिक सांसद भनेर प्रत्यक्षको एक तिहाई बराबर मात्र एक करोड संसदीय बजेट दिने गरेको भन्दै बढाउन माग गरे ।
उनीहरुले प्रत्यक्षतर्फका सांसदहरु मात्र एउटा निर्वाचन क्षेत्रका मत लिएर जितेका हुन्छन । तर आफूहरु ८ वटै जिल्लाबाट मत पाएर निर्वाचित भएका छौं सोही अनुरुप संसदीय बजेट व्यवस्थापन गर्न माग गरे ।
भाग्यश्री चौधरीले भनिन् महिला र पुरुष सामान रहेको भनिएपनि आफूहरु प्रत्यक्षभन्दा बढी मतले निर्वाचित भएपनि सरकारले समानुपातिक भनेर हेप्दै प्रत्यक्षको तुलनामा मात्र एक तिहाई बजेट दिने गरेका आरोप लगाउंदै प्रत्यक्ष सरह नै तीन करोड रुपैया संसदीय बजेट दिनुपर्ने माग गरिन् ।
सांसद शहीदा खातुनले प्रत्यक्षतर्फका सांसदको घरमा २÷४ जना कार्यकर्ता योजना माग्ने गरेको होला । तर आफू कहाँ त ८ वटै जिल्लाका १५/२० बिहानदेखि रातिसम्म पार्टीका कार्यकर्ताहरु योजना माग्ने आउने गरेको र प्रदेशभरिकै जनताले माननीयज्यू तपाईको पार्टीलाई मत दिएको भनी कोही सडक त कोही मन्दिर कोही विद्यालय लगायतका योजना माग्ने गरेकाले मात्र एक करोडको बजेटमा काम गर्न नसक्दा दुख लाग्ने गरेकाले सरकारले ८ करोडसम्म बजेट दिनुपर्ने माग गरे ।
सांसद ललिता दासले जनताले समानुपातिकतर्फ कुनैपनि पार्टीलाई पार्टी हेरेर होइन प्रस्तावित उम्मेदवारको क्लस्टर, जात र समुदाय हेरेर मत दिने गरेकाले आफू प्रत्यक्षभन्दा बढी मत लिएर निर्वाचित भएको दाबी गरिन् । उनले आफूहरु प्रदेशका आठवटै जिल्लामा गएर आफ्ना जात, समुदाय र नातेदार कहाँ गएर मत माग्न दिनरात मेहनत गरेका कारण आफू निर्वाचित हुन सफल भएकाले ८ वटै जिल्लाबाट योजना माग्ने गरेकाले सरकारले कम्तिमा ८ करोडको संसदीय बजेटको व्यवस्था गर्नुपर्ने माग गरे ।
साथै उनले जुन जनताले प्रत्यक्षतर्फका उम्मेदवारलाई मत दिएका छन, त्यही जनताले समानुपातिक उम्मेदवारलाई मत दिएको छ । जब जनताले विभेद गरेको छैन भने सरकारले बजेटमा विभेद गर्नुको कारण भनी प्रश्न गरे । दलित विकास समितिको जिम्मेवारी दलित सांसदहरुलाई दिनुपर्ने माग समेत उनले गरे ।
क्लस्टर आधार हेपिदैछौं

कार्यक्रममा उपस्थित पूर्व सांसद सरस्वती चौधरीले महिला सामानुपातिक सांसद त्यसमा पनि महिला भनेर प्रदेश सभा रोस्टममा बोल्ने अवसर नदिने गरेको अनुभव सुनाईन । महिला सांसद बोल्न सक्दैन भनेर प्रमुख सचेतकले हेप्दै आएको विगतका अनुभव वर्तमान सांसदहरुलाई सुनाए ।
त्यस्तै वर्तमान सांसद ललिता दास वर रञ्जु खँगले प्रदेश सभामा पार्टी र सरकार समेतले दलित भनेर हेप्ने गरेको बताए । उनीहरुले समावेशी अन्तर्गत दलित कोटामा आफूहरुलाई सांसद त बनाइयो तर रोस्टममा बोल्नेदेखि बजेट र सरकारमा सहभागिताको सवालमा हेप्दै आएको भने । उनीहरुले दलितहरुलाई सरकारमा सहभागी नगराइएकोमा दुखेसो समेत पोखे ।
त्यस्तै सांसद शहीदा खातुनले संसदमा समानुपातिक र मुस्लिम सांसदहरुलाई रोस्टममा बोल्नेदेखि संसदीय बजेटमा पार्टीदेखि सरकारले हेप्ने गरेको अनुभव सुनाईन । सांसद भाग्यश्री चौधरीले पनि समानुपातिक सांसद भएकै कारण आफूले प्रदेश सभाको विशेष समयमा बोल्ने अवसर पाउन नसकेको दुखेसो सुनाईन ।
कार्यक्रममा सहभागी पूर्व सांसद एवं एमालेका प्रमुख सचेतक सुन्दर विश्वकर्माले समानुपातिक र महिला सांसद भनेर कहिलेपनि सांसद नहेपिएको दाबी गरे । उनले भने संसदको विशेष समयमा सम्बन्धित विधेयक र विषयवस्तुमा बोल्न अध्ययन एवं अनुभवको आवश्यकता भएकाले समानुपातिक मात्रै होइन प्रत्यक्षतर्फका सांसदहरुले पनि अवसर पाउंदैन । उनीहरुले शून्य समयमा बोल्न सक्छन भने ।
कार्यक्रमका अध्यक्षता गरेका प्रदेश सभामुख रामचन्द्र मण्डलले अनुभव आदानप्रदानले ज्ञान र सिकाईमा वृद्धि हुने भएकाले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरे । रोस्टममा पार्टीले बोल्ने अवसर नदिने गरेकोमा आरोपमा सभामुख मण्डलले पनि विशेष समयमा अवसर नपाउनेहरुका लागि शून्य समयको प्रावधान बनाइएकाले त्यसमा बोल्न आग्रह गरे ।
कार्यक्रममा पूर्व सांसद सीता गुरुङ्ग, वर्तमान सांसद शारदा दास, किशोरी देवी र रमिता प्रधानले पनि संसदीय बजेटमा विभेद गरेको भनी बढाउनुपर्ने प्रदेश सरकारसँग माग गरेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !