जनकपुरधाम, ११ बैशाख । महोत्तरीको गौशाला नगरपालिका सोमबार दिनभर तनावग्रस्त रह्यो । छोरीलाई विष सेवन गराएर हत्या गरेको भन्दै आरोपितको घरमा आक्रमण गरेपछि प्रहरीले हवाई फायर गर्दा अवस्था तनावग्रस्त बनेको हो ।
गौशाला नगरपालिका–४ मलहनिया पोखरी टोलमा आरती देवी साहलाई ससुरापट्टीको घरपरिवारका सबै सदस्यले मिलेर विष सेवन गराई हत्या गरेको भन्दै आरतीको माइती पक्षले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गर्दै आरोपितको घरमा आक्रमण गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

करिब डेढसयको समुहमा आक्रोशितहरुको भिडले मृतकको श्रीमानको घरमा आक्रमण गर्न खोजेपछि उनीहरुलाई बचाउने क्रममा प्रहरीले २२ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
नेपाल प्रहरीको तर्फबाट सानो पेस्तोलबाट ५ राउण्ड र सशस्त्र प्रहरीले एसएलआरबाट ४ राउण्ड तथा ग्यास गनबाट १३ सेल फायर गरेको प्रवक्ता गिरीले जानकारी दिए । सो क्रममा नेपाल प्रहरीका दुईजना र सशस्त्र प्रहरीका ३ जना जवान सामान्य घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ ।
गत शुक्रबार राति करिब साढे ११ बजेको समयमा गौशाला नगरपालिका–४ मलहनिया पोखरी टोल बस्ने उमेश साहकी श्रीमती २७ वर्षीया आरतीले घरायसी बिवादका कारण मुसा मार्ने विषादी सेवन गरेकी थिइन् । प्राथमिक स्वाथ्य केन्द्र गौशालामा सामान्य उपचार पश्चात थप उपचारको क्रममा ट्रामा अस्पताल बर्दिबासमा शनिवार उनको मृत्यु भएको थियो ।
सोही घटनामा सोमबार मृतकको माईती पक्ष र स्थानियले आरतीलाई ससुरापट्टीको घरपरिवारका सदस्यहरु मिलेर बिष सेवन गराई हत्या गरेको आरोप लगाउँदै सम्सी–माईस्थान भित्री सडक खण्डमा टायर बालेर बाटो अवरुद्ध गरेका थिए ।
प्रहरीले आरतीका पति ३९ वर्षीय उमेश साहलाई ईलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !