जनकपुरधाम, कात्तिक १९ गते । निर्वाचन आयोगको कार्यालय जनकपुरधामले आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचार प्रसारमा आचारसंहिताको उल्लंघन गरेको भन्दै जनकपुरधामबाट एक दर्जन सवारी साधन नियन्त्रणमा लिएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले प्रयोग गरेको विदेशी नम्बर प्लेटका १० वटा र डिजे लगाएर चर्को स्वरमा चुनावी गीत बजाउने दुई वटा नेपाली नम्बर प्लेट १२ सवारी साधन नियन्त्रणमा स्थानीय प्रशासनको सहयोगमा लिएको छ ।
आचार संहिताविपरीत सवारी साधनमा ठुला–ठुला ब्यानर झुण्ड्याएर अत्यधिक ध्वनी प्रदुषण हुनेगरि डिजेमा प्रचारप्रसार गरेको र भारतीय नम्बर प्लेट सहितका प्रयोग भएका विदेशी गाडीहरु नगरभित्रका विभिन्न चोकहरुबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका गाडी नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुलीकुमारी महतो, प्रदेशसभा ३(क) का उम्मेदवार जितेन्द्रकुमार यादव, प्रदेशसभा ३(ख) का उम्मेदवार दिपेन्द्र ठाकुर, धनुषा–३ कै सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल झा, ३(क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार रामसरोज यादवलगायत सहित अन्य स्वतन्त्र उम्मेदवारहरुको रहेको छ ।
यता धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले विदेशी नम्बर प्लेटको गाडीहरु व्यापक रुपमा प्रयोग भइरहेको गुनासो आउन थालेपछि गत तीन दिनअघि त्यसमा रोक लगाउने निर्णय गरेका थियौं । सोही अनुरुप अनुगमन टोलीले निरिक्षण गर्दा ती गाडीहरु नियन्त्रणमा लिइएको बताए ।
उनले भने सम्बन्धित उम्मेदवारलाई पहिलो पटकका लागि हामी सचेत गराउने छौ तर नियन्त्रणमा लिइएका गाडी हाल हामी छाडने छैनौ । निर्वाचन सम्पन्न पश्चात ती गाडीलाई कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !