जनकपुरधाम, कार्तिक १६ गते । भ्रष्टाचारको अन्त्य गर्न संघ र प्रदेश दुवै तहमन एमाले नेतृत्वको सरकार जरूरी रहेकाे नेकपा एमालेबाट धनुषाको ३(ख)बाट प्रदेशसभा सदस्यमा उम्मेदवार दिपेन्द्र ठाकुरले बताएका छन ।
बुधवार जनकपुरधाम २५ लाेहनामा घरदैलो कार्यक्रमको क्रममा उनले मत माग्दै प्रदेश सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै एमाले नेतृत्वमा प्रदेश सरकार बने भ्रष्टाचारीहरु आफै तह लागेर जाने उनले दावी गरे ।
संघ र प्रदेश दूबैमा एमालेको पक्षमा मतदान गर्न आग्रह गर्दै उम्मेदवार ठाकुरले आफू राजनीतिलाई कमाई खाने भाँडो बनाउनका लागि होइन जनताको सेवाकालागि उम्मेदवारी दिएको स्पष्ट पारे । उनले भने ‘जनताबाटै मत लिएर कतिपय जनप्रतिनिधि जनताकै कामका लागि घुस लिन्छन्, अब तीनलाई जनताले मतपत्रबाटै जवाफ दिने छन् ।’
ठाकुरले त्यस्ता जनप्रतिनिधिलाई चुनेर पठाउने जनता नै रहेकाले सही जनप्रतिनिधि चुन्ने बेला फेरी आएको र यस पटक मत खसाल्दा होश पुर्याउन मतदातालाई आग्रह गरे ।

प्रदेशको शिक्षा, स्वास्थ्य लगायतको क्षेत्र दयनिय रहेकोमा चिन्ता व्यक्त गर्दै ठाकुरले आफू निर्वाचित भए यस क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले देश विकासका लागि प्रदेशलाई समृद्ध बनाउनु आवश्यक छ, यसका लागि हामीले नै हाम्रो प्रदेशलाई शिक्षित प्रदेश बनाउनु पर्छ बताए ।
शिक्षित प्रदेश भए मात्रै यहाँका जनता आफ्नो निर्णय आफै लिन सक्षम हुने भएकाले मेरो लक्ष्य प्रदेशलाई शिक्षित बनाउनुका साथै भ्रष्टाचार मुक्त प्रदेश बनाउनु रहेको बताए ।
यता ठाकुरले एमालेका नेता कार्यकर्ताहरुलाई पूरै जोश जाँगरका साथ जनता माझ जान अपिल गरेका छन् । उनले दलको एजेण्डाका साथै उम्मेदवारहरुको एजेण्डा प्रत्येक जनतालाई बुझाउन आग्रह समेत गरे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !