जनकपुरधाम, भदौ २३ गते । बैंकबाट पैसा झिकेर गइरहेका एक वृद्धको लाखौ रुपैया लुटेर फरार भएका दुई युवकहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई बिहीवार जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन । प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका ६ निकाल बस्ने २० वर्षीय भरोसी भन्ने नरेश यादव र वडा नम्बर–४ का २३ वर्षीय सरोज दास रहेका छन् ।
बुधबार दिउँसो साढे २ बजेको समयमा लक्ष्मीनिया गाउँपालिका ४ सपहीका स्थानीय ७५ वर्षिय वृद्ध राम दासले सपही स्थितकै मेगा बैंकबाट १ लाख ८० हजार रुपैयाँ निकालेर घर जाने क्रममा सपही गाँउ नजिक मोटरसाईकलमा आएका दुई युवकले उनको रकम लुटेर भागेका थिए ।
घटनाको बारेमा जानकारी भए लगतै जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतको प्रहरी कार्यालयबाट व्यापक रूपमा प्रहरी टोली परिचालन गरि दासको नगद लुटेर फरार भएका युवकको हुलियाको आधारमा खोजबीन गर्दै बुधवार नै सांझ सपही चोकबाट पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे जानकारी दिएका छन् ।
नरेश र सरोजले बैंकबाट रकम निकाल्ने व्यक्तिको रकम लुटनु पर्छ भनी योजना बनाएर बैंक नजिक गए । योजना अनुसार नरेश बैंकमा प्रबेश गरी राम दासले बैंकबाट रकम निकाली घर जान लाग्दा तिनीहरु मोटरसाईकलमा सवारी भई पिछा गर्दै एकान्त स्थानमा पुगेपछि रकम लुटेर फरार भएको अनुसन्धानमा देखिएको उनले बताए ।
लुटिएको रकम मध्ये १ लाख ७५ हजार रुपैयाँ भरोशी भन्ने नरेश यादवको घर अगाडी उनकै छाप्रो घरमा माटोमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो । त्यस्तै, सरोज दासको साथबाट १५ हजार रुपैयाँ फेला परेको र वारदातमा प्रयोग भएको ज १२ प ८५९३ नम्बरको मोटरसाईकल समेत बरामद भएको प्रहरी उपरिक्षक रजौरेले जानकारी दिए ।
यसअघि गत साउन ९ गते जनकपुरधाममा पनि धनुषाको सवैला नगरपालिका वडा नम्बर–४ पटेर्वा घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ बस्ने शर्मिला देवी यादव एभरेष्ट बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा उनको साथबाट पनि दुई लाख रुपैयाँ लुटिएको थियो । उक्त घटनामा पनि प्रहरीले लक्ष्मीनिया गाउँपालिकाकै वडा नम्बर–७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र सोही ठाउँ बस्ने २१ वर्षीय दीपेन्द्र मण्डललाई पक्राउ गरेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !