जनकपुरधाम, चैत २३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भाषा, साहित्य र कला संस्कृतिको विकास तथा समृद्धिका लागि सबभन्दा पहिला राष्ट्र समृद्ध हुन जरुरी रहेको बताएका छन ।
जनकपुरधाममा आयोजित तीन दिने जनकपुरधाम साहित्य, कला र नाट्य महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने नेपाल विविध संस्कृति र भाषाभाषी मिलेर बनेको देश हो, यसको सम्वद्र्धन गर्नु भन्दा पहिला राष्ट्रलाई समृद्ध गर्न आवश्यक छ ।
तर अहिले देशमा राजनीतिमा होस अन्य कुनै क्षेत्र एकअर्का खुट्टा तान्ने प्रवृद्धि बढेको छ । जबसम्म हामी देशलाई नेपाललाई समृद्ध बनाउन सक्दैनौं तबसम्म कुनैपनि जातजाति वा धर्म समुदायको उत्थान र विकास असम्भव छ । अध्यक्ष नेपालले भने हामी देश समृद्ध बनाउने अभियानमा जुटेका छौं यसमा सबैको सहयोग र साथको आवश्यकता छ ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्रका भाषा, साहित्य र कला संस्कृतिको उत्थान, संरक्षण, सम्बद्र्धन र विकासका लागि चाँडै प्रदेश प्रज्ञा प्रतिष्ठान गर्ने प्रतिबद्धता जनाए ।
उनले भने प्रज्ञा प्रतिष्ठान गठनका लागि कार्य अन्तिम चरणमा पुगिसकेको छ, ऐन पारित भए लगतै मधेश प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गरिनेछ । ती प्रज्ञा प्रतिष्ठानले प्रदेश भित्रका मैथिली, भोजपुरी, बज्जिका र अवधि लगातका भाषाहरुको सम्वृद्धि र संरक्षण हुने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य जितेन्द्र सोनलले एक अर्काको अस्तित्व स्वीकार गर्न नसकिएको कारण प्रदेश भित्रका भाषा, साहित्य र कलाको संरक्षण सम्बद्र्धन हुन नसकेको आरोप लगाए ।
कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मैथिली भाषा र साहित्य पछाडि पर्नुमा राज्य पक्ष दोषी मात्र नभई हरेक पक्ष रहेको आरोप लगाउंदै भने संविधानमा भाषा बारे उल्लेखित धारा नसच्याएसम्म यसरी नेपाली बाहेक अन्य भाषा उपेक्षित नै रहनेछ ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न सो उद्घाटन सत्र प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा मैथिली, थारु र हिन्दी भाषाका विभिन्न गीत तथा नृत्य सहितका कार्यक्रम प्रस्तुत गरिएको थियो भने मिथिला मैथिली र सलहेश सांस्कृति सहित विभिन्न विधामा योगदान पुरयाउंदै आएकाहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

कोषले प्रदान गर्दै आएको डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७ भाषा वैज्ञानिक डा. रामअवतार यादव र सलहेश सांस्कृतिक पुरस्कार २०७७ डा. आभास लाभलाई दिएको छ ।
त्यसैगरी डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८ साहित्यकार महेन्द्र मिश्र र सलहेश सांस्कृतिक पुरस्कार २०७८ गायक रामा मण्डललाई प्रदान गरिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !