जनकपुरधाम । सगोलमा रहेको पारिवारिक सम्पत्तिलाई अंशियारहरूबीच भागवण्डा लगाउने प्रक्रियालाई अंशबण्डा भनिन्छ भने अंश पाउने व्यक्ति अंशियार हुन्छ ।
पितापुर्खा, बाबुबाजेबाट हक हस्तान्तरण हुँदै आएको सम्पत्ति र एकाघर परिवारका सदस्यहरूको एकल तथा संयुक्त प्रयासबाट आर्जन गरेको वा बढे/बढाएको सम्पत्ति अंशियारबीच अंशबण्डा गर्नुपर्छ ।
अंशबण्डा जीवित भएका व्यक्तिबीच गर्नुपर्ने कानुनी व्यवस्था साविक मुलुकी ऐनले गरे तापनि हालको मुलुकी देवानी संहिता २०७४ ले अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशुसमेत अंशियार हुने व्यवस्था गरेको छ ।
को हुन् त अंशियार ?
कानुनले एकाघरका पति, पत्नी, बाबु, आमा, छोरा, छोरी गरी छ प्रकारका नाता–सम्बन्धका व्यक्तिलाई सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि अंशियार मानेको छ ।
सगोलमा रहेको सम्पत्तिमा प्रत्येक अंशियारको समान हक हुने, अंशबण्डा गर्दाका बखत कुनै अंशियारमध्येको कुनै महिला गर्भवती भएमा र निजले जन्माउने शिशुसमेत अंशियार हुने अवस्था भएमा र त्यसरी जन्मने शिशुलाई समेत अन्य अंशियारसरह भाग छुट्याएर मात्र अंशबण्डा गर्नुपर्ने कानुनी व्यवस्था मुलुकी देवानी संहिता २०७४ ले गरेको छ ।
तर, साविक मुलुकी ऐनले भने जीवित व्यक्तिलाई मात्र अंशियारा मान्ने व्यवस्था गरेको थियो । नयाँ व्यवस्थाअनुसार गर्भमा रहेको शिशुलाई अंशभाग राखिएको अवस्थामा जिउँदो शिशु नजन्मिएमा त्यस्ता शिशुको लागि छुट्याइएको अंश अन्य अंशियारले बाँडेर खान पाउने वैकल्पिक व्यवस्थासमेत कानुनले गरेको छ ।
सम्बन्ध विच्छेद भएका अभिभावकका छोराछोरीको अंश हक के हुने ?
नेपालको प्रचलित कानुनबमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका आमाबाबुबाट जन्मिएका छोराछोरीले अंश पाउने व्यवस्था छ ।
बाबुको पहिचान नभएका छोराछोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउने व्यवस्था मुलुकी देवानी संहिता २०७४ ले गरेको छ । लुकाइछिपाई वा सार्वजनिक नगरी बाहिर राखेका पत्नीले वा निजबाट जन्मेका छोराछोरीले पति वा बाबु मरेपछि अंशमा दाबी गर्न नपाउने व्यवस्था नयाँ ऐनले गरेको छ ।
कस्तो अवस्थामा अंश माग्न सकिन्छ त ?
सगोलको सम्पत्ति भोगचलन गरेर बसेका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई आफ्नो इज्जत आमदअनुसार खानलाउन दिन र आर्थिक हैसियतअनुसार शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने दायित्व हुन्छ ।
त्यस्तो दायित्व पूरा गर्नुपर्ने अवस्थाका व्यक्तिले दायित्व पूरा नगरेमा वा समान हैसियतका व्यक्तिमा असमान व्यवहार भएको महसुस भएमा, परिवारको संख्या बढ्न गई सबैलाई हेरविचार गर्न नसक्ने अवस्था भएमा वा कुनै अंशियारलाई छुट्टै बस्दा सहज हुने अवस्था महसुस भएमा त्यस्ता असन्तुष्ट अंशियारले आफ्नो अंश लिई भिन्न हुन सक्छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !