जनकपुरधाम, साउन २२ गते । कोरोना भाइरस संक्रमितको संख्या तिव्र रुपमा बढदै गएपछि संक्रमण रोकथाम एवं नियन्त्रणका लागि सरकारले पुनः लकडाउन शुरु गरेको छ ।
बुधवार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै गृहमन्त्रालयले बिहीवारदेखि लागू हुने गरि काठमाडौं उपत्यका र कोभिड–१९ को दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमितहरू भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न निर्देशन दिएका छन ।
काठमाडौ उपत्यकामा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म प्रवेशमा रोक लगाउनका साथै उपत्यका बाहिर राति ९ बजेदेखि बिहान ५ बजेसम्म अधिकारप्राप्त बाहेकका सवारी आवागमनमा रोक लगाएका छन ।
दुई सयभन्दा बढी संक्रमित जिल्लाका शहरी इलाकामा जिल्ला भित्रसमेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने तथा सार्वजनिक तथा निजी सवारी साधनहरू जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने व्यवस्था गरिने विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी गृहमन्त्रालयको विज्ञप्तिमा मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गरिने उल्लेख छ । जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्डको उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सो को सञ्चालक समेतलाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय सीमा नाकामा आवतजावतलाई कडाइका साथ निषेध गर्नुका साथै होटल, रेस्टुराँमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा सामूहिक भेलाजस्ता कार्यपनि निषेध गर्ने उल्लेख छ ।
हुनत प्रदेश २ का सिरहा बाहेक ७ जिल्ला सहित देशभरिमा १४ जिल्ला र त्यसका प्रमुख शहरहरुमा निषेधाज्ञा जारी रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !