जनकपुरधाम, चैत २३ गते । कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनले गर्दा जनकपुरधाम उपमहानगरपालिकाका जनतालाई भोकमरी समस्या उत्पन्न भएको छ ।
हुनत विश्व सहित नेपालपनि कोरोना भाइरसको मार झेलिरहेका छन । तर खासगरी प्रदेश २ का राजनधानी समेत रहेका जनकपुरधामका जनतालाई कोरोना भाइरस महाकारीको प्रकोपभन्दा बढी अहिले भोकमरी समस्याले सताएको छ ।
नगरका सयौं गरीब असहाय, दलित र दैनिक ज्यालादारी गर्ने मजदूरका परिवारलाई लकडाउनको १३ औं बित्दासम्म उपमहानगरपालिकाले एक करोड भन्दा बढी रकम कोषमा रहेपनि कुनै प्रकारको राहत सामाग्री उपलब्ध गराएको देखिदैन । हुनत उपमहानगपालिकाका केही वडाले विभिन्न संघ संस्था र दाताको सहयोगमा समान्य रुपमा खाद्यान्न राहत वितरण गरिरहेको छन तर त्यो अपुग छन ।
कोरोना भाइरस विरुद्ध लड्न जनकपुरवासी सरकारले जारी गरेको लकडाउनका पालना गर्दै आएका छन । तर तिनीहरुले दुई छाकको खाना पाइरहेको छ छैन बारे उपमहानगरपालिका वा कुनैपनि निकायले सोधखोज गर्न गएको छैन । उपमहानगरको विपद व्यवस्था कोषमा ८३ लाख र प्रदेश सरकारले दिएको २० लाख रुपैया रहेपनि गरीब नगरवासीलाई भोकै बस्नुपर्ने बाध्यता रहेको छ ।
जनकपुरधाम ४ का राजा सहनीले लकडाउनका कारण भोकभोकै दिन बिताउन बाध्य रहेको बताउँछन । ठेला चलाएर आफ्नो जिविकोपार्जन गर्दै आएका सहनीलाई ठेला नगुडेपछि खाना खान समस्या भएको छ । अहिले उनको ५ जनाको परिवार एक छाक मात्र खाना खान्छन् । त्यसमाथी छोरो बिरामी परेपछि उनलाई झन समस्या भएको उनले दुखेसो सुनाए ।

विकट समस्या परेपछि सहनीले श्रीमतिको ३ पाईको सुनको मंगलसुत्र छिमेकी सँग मात्र एक हजार रुपैया बिरामी छोराका लागि औषधि र बांकी पैसाको खाद्यान्न किनेर मात्र एक समय खाना खाएर पारिवारको पेट पालिरहेका छन । उनले कोरोना रोगले मर्छु कि मर्दैन त्यो त निश्चित छैन तर भोकले मर्छु त्यो निश्चित छ गहभरी आँसु झार्दै संचारकर्मीसँग भने ।
दिनहुँ समाजिक सञ्जालमा आफूलाई समाजसेवी भनाउनेहरुले एकआध व्यक्तिलाई सामान्य राहत दिई फोटो भाइरल बनाइ रहेका छन तर सहनी जस्ता दिनदुखिलाई हेर्ने कोही छैन । सहनी मात्र सहनी जस्ता उपमहानगरपालिकामा हजारौ यस्ता परिवार छन जसलाई भोकै बस्नुपर्ने अवस्था छ ।
जनकपुरधाम बजारमा पसलमा काम गर्ने, दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, स साना पसल थापेर जीवन व्यतित गर्ने, एकल महिला र दलित जस्ता हजारौं घर परिवार यस्ता छन जसलाई लकडाउनले गर्दा खाना पुगिरहेको छैन । प्रदेश सरकारले राहत वितरणका लागि स्थानीय तहहरुलाई रकम पठाएपनि सो रकमको सदुपयोग हुन नसकी गरीब परिवारहरु भोकै बस्दै आएका छन ।
यस्तै, लकडाउनको कारण आफूहरुको कमाउने बाटो बन्द भएको र कहीँबाट खाद्यान्न राहत समेत नपाएको माछा मार्ने काम गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ बस्ने रामप्रसाद सहनीले दुःखेसो पोखे । उनले घरमा राशन नरहेकोले बाँच्नै मुश्किल हुन थालेको बताएका छन् ।
घरमा भएको चामल सकिएको र बाहिरबाट किनेर ल्याउने पैसा नभएकोले दुई दिनदेखि भोकै बस्नु परेको मजुदुर सुबोध मण्डलले बताए । घरमा ५ जनाको परिवार भएकोले दैनिक मजदुरी छुटेपछि अहिले रोगले भन्दा पनि भोकले आफुहरु मर्ने अवस्था आएको उनले व्यथा सुनाए ।
घरबाट बाहिर ननिस्कन भनेको र खाना, पानी केही नपाएर भोकभोकै मर्नु पर्ने अवस्था आएको अर्की मजदुर कमला श्रेष्ठले भन्छिन । सरकारले घरभित्रै बस भनेको आफुहरुले पालना गर्दा अहिले आफुहरु भोकै बस्नुुपर्ने अवस्था आएको र छोराछोरीलाई चामलको माड खुवाएर ज्यान जोगाई रहेको करुण व्यथा सुनाईन ।
सरकारले प्रचारमुखी मात्र राहत वितरण गरेको जनकपुरधाम–४ का कृपाल मुखियाले आरोप लगाएका छन् । जनकपुरधाम उपमहानगरपालिकामा लकडाउनको १३ दिन बितिसक्दा समेत अहिलेसम्म यस्ता दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुका लागि न त राहतको व्यवस्था गरिएको छ न त उनीहरुको कुनै खोजखबर नै ।
यता उपमहानगरपालिकाले लकडाउनको ११ औं दिन शुक्रवार एक बैठक गरी वडाअध्यक्षहरुलाई गरीब परिवारको लगत उपलब्ध गराउन मांग गरे । सो निर्णय अनुसार लगत आउँदासम्म दोश्रो चरण लकडाउनको अवधि मात्र एक दिन हुन्छ । वडाध्यक्षहरुले पनि स्थलगत निरिक्षण नगरी राजनीतिक आस्थाका आधारमा लगत संकलन गरिरहेको बुझिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !