जनकपुरधाम, प्रदेश २ को नामाकरणका लागि प्रस्ताव गरिएको विभिन्न नाम मध्ये प्रतिपक्षी दललाई पछि पार्दै असन्तुष्ट सांसदहरुको मध्य मधेशले ४२ मत ल्याएको छ ।
प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ र कांग्रेसको मिथिला भोजपुराको पक्षमा २८ मत खसेको थियो । तीनवटै प्रस्तावमा दुई तिहाई मत नपुगेपछि स्वतः अस्वीकृत भएको छ ।
अब सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त प्रस्ताव रहेको मधेश प्रदेशमा मतदान जारी रहेको छ । निर्वाचन प्रक्रिया अनुसार प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशबाट मतदान शुरु हुँदै मिथिला भोजपुरा र मध्य मधेश प्रदेशको नाममा मतदान भएको हो ।
नामाकरणका लागि प्रतिपक्षी नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सत्तापक्ष तथा कांग्रेसका असन्तुष्टहरु सांसदहरुले मध्य मधेश र सत्तारुढ समाजवादी तथा राजपाले संयुक्त रुपमा मधेश प्रदेश प्रस्ताव दर्ता गराएको हो ।
प्रदेश सभाका सभामुख सरोजकुमार यादवको मतदानबाट मतदान कार्य करीब अढाई बजेदेखि शुरु भएको हो । सभामुखपछि उपसभामुख उपमा देव, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सहित क्रमशः अन्य मन्त्री र सांसदहरुले मतदान गरिरहेका छन ।
नामाकरण मतदान सकिए लगतै स्थायी राजधानीका लागि मतदान हुनेछ । निर्वाचन प्रक्रिया अनुसार जुन नाम र स्थायी राजधानीमा दुई तिहाई अर्थात ७२ मत आउँछ त्यही सदर हुनेछ । कुनैपनि प्रस्तावमा दुई तिहाई मत आएन भने पुनः अर्को चरणको प्रक्रियामा जानेछ ।
प्रदेश २ मा १ सय ७ सांसद रहेकोमा संघीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२, कांग्रेसका १९ सांसद रहेका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !