जनकपुरधाम, प्रदेश २ को नामाकरणका लागि प्रस्ताव गरिएको जानकी र मिथिला भोजपुरा प्रदेश नाम अस्वीकृत भएको छ ।
प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ मत खसेको छ भने कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुराको पक्षमा मात्र २८ मत खसेको छ ।
निर्वाचन प्रक्रिया अनुसार प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशबाट मतदान शुरु थियो । त्यसपछि मिथिला प्रदेशमा मतदान भएको हो ।
अब मध्य मधेश र मधेश प्रदेशमा मतदान हुन बाँकी छ । नामाकरणका लागि प्रतिपक्षी नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सत्तापक्ष तथा कांग्रेसका असन्तुष्टहरु सांसदहरुले मध्य मधेश र सत्तारुढ समाजवादी तथा राजपाले संयुक्त रुपमा मधेश प्रदेश प्रस्ताव गरिएको नाममा मतदान जारी रहेको छ ।
प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि मंगलवार दिउंसोदेखि मतदान शुरु भएको हो । प्रदेश सभाका सभामुख सरोजकुमार यादवको मतदानबाट मतदान कार्य करीब अढाई बजेदेखि शुरु भएको हो ।
नामाकरण मतदान सकिए लगतै स्थायी राजधानीका लागि मतदान हुनेछ । निर्वाचन प्रक्रिया अनुसार जुन नाम र स्थायी राजधानीमा दुई तिहाई अर्थात ७२ मत आउँछ त्यही सदर हुनेछ । कुनैपनि प्रस्तावमा दुई तिहाई मत आएन भने पुनः अर्को चरणको प्रक्रियामा जानेछ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !