लोक समाचारदाता
जनकपुरधाम, फागुन १३ गते ।
राजीनामा दिएकी प्रदेश २ का भौतिक पुर्वाधार विकास राज्यमन्त्री डिम्पल झा पार्टी नेतृत्वको दबावमा एक महिनापछि राजीनामा फिर्ता लिएकी छिन ।
गत माघ १४ गते प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र जोगाउन लामो समयदेखि प्रयास गरेपनि अनुकुल हुने अवस्था नरहेका भन्दै उनले राज्यमन्त्री पदबाट प्रेस विज्ञप्ति जारी गरी राजीनामा दिएकी थिइन ।
राज्यमन्त्री झाले सरकारमा रहँदा पनि मन्त्रीले कुनै किसिमको जानकारी दिने नगरेको, सम्पूर्ण काम आफैं गर्ने गरेको, आफूसँग कुनै सोधीखोजी नगरेको आरोप लगाउँदै संसदीय दलका नेता जितेन्द्र सोनललाई राजिनामा बुझाएकी थिइन् ।
पार्टी नेतृत्व तहको एक महिनाको लामो प्रयासपछि उनले आईतवार राजीनामा फिर्ता लिएकी हुन् । राजीनामा फिर्ता पश्चात उहाँले मन्त्री एवं आफ्ना पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलसँग छलफल गरेर पुनः पद सम्हाल्दै कामकाजलाई निरन्तरता दिन थालेकी छिन ।
राज्यमन्त्री झाले संचारकर्मीको जिज्ञासामा भनिन् ‘पार्टीका नेताहरुको आग्रहमा राजिनामा फिर्ता लिएकी हुँ’ “पार्टी नेतृत्वकर्ता महन्थ ठाकुरजस्ता नेताहरुको निर्देशन मान्नु आफ्नो लागि जरुरी थियो ।” यहीं पार्टीमा आफूलाई राजनीति गर्नुछ, “नेताको भनाईलाई नमान्ने हो भने अर्काे पार्टीमा जानुपर्छ, त्योभन्दा वेश यही पार्टीमा बसौं भनेर राजीनामा फिर्ता लिएकी हुँ ।”
राज्यमन्त्री झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन् । उनी समानुपातिकबाट सांसद चयन भई राज्यमन्त्रीको पदमा पुगेकी हुन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !