लोक समाचारदाता
विराटनगर, फागुन ५ गते ।
अवैध सम्पति आर्जन गरेको आरोपमा डिभिजन सडक कार्यालय विराटनगर, मोरङका तत्कालीन डिभिजन प्रमुख जितेन्द्र कुमार चौधरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
चौधरीले पदीय मर्यादा विपरित सडकका बिभिन्न आयोजनाहरुमा ठेकेदारसँग अवैध रकम (घुस) लिई गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अनुसन्धान गर्दा अवैध सम्पति ठहर भएको अख्तियारले दाबी गरेको छ ।
चौधरीले गैरकानूनी सम्पत्ति आर्जन गरी निज तथा निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी रकम खर्च सहित ३ करोड ९९ लाख, ४४ हजार ३ सय ४२ रुपैया गैरकानूनीमा रुपमा आर्जन गरेको अख्तियारको ठहर छ ।
अख्तियारले अनुसन्धानको क्रममा आफू र श्रीमति तथा छोराछोरीको नाममा घरजग्गा खरीद गरेको र छोराछोर िगरी आफू, श्रीमती र छोरासमेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिद सहित छोरा छोरीको पढाई शैक्षिक खर्च र विभिन्न बैंकमा तिनीहरुको नाममा रहेको मौज्दालले ती रकम अवैध पाइएको दाबी गरेको छ ।
सार्वजनिक पद धारण गरी चौधरीले पदीय मर्यादा विपरित अवैध गैरकानूनी सम्पति आर्जन गरेको ठहर गर्दै अख्तियारले चौधरी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम कसुर गरेकोले निजलाई सो रकम बराबरको बिगो कायम गरी असुल उपर गर्नुपर्ने, उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय समेत मांग गर्दै मुद्दा दायर गरेको हो ।
अनुसन्धानको क्रममा चौधरीले आफ्नो नाममा र परिवारिक सदस्यको नाममा आर्जन गरेको सम्पति र खर्चको श्रोत नखुलेको भन्दै पारिवारिक सदस्यको नाममा समेत रहेको सम्पति जफ्त गर्न अख्तियारले मांग गरेको छ ।
निज चौधरीले आफू लगायत श्रीमती किरण चौधरी, छोरा अभिषेक चौधरी र छोरी स्मृति चौधरीको अध्ययनमा खर्च, घर जग्गा खरिद, घर निर्माण, बैंक खाताहरुमा रकम मौज्दात, स्रोत पुष्टि हुन नसकेको सम्पत्ति तथा खर्च एवं लगानीको सम्पत्ति कायम गरी बिगो जफत गर्ने प्रोजनार्थ श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरी समेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न आरोपपत्रमा भनिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !