लोक समाचारदाता
जनकपुरधाम, माघ १६ गते ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल टेलिकममा जागिर पाएको भन्दै अख्तियारले टेलिकममा कार्यरत प्राविधिक अधिकृत जयनारायण प्रसाद साह विरुद्ध मुद्दा दायर गरेको छ ।
साहले नक्कली प्रमाणपत्रको आधारमा बिभिन्न सुविधा भोग गरिरहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान गर्दा नक्कली प्रमाणपत्र नै फेला परेको भन्दै जालसाजी मुद्दामा सजायको मांग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मद्दा दायर गरेको हो ।
निजले भारतको बोधगयास्थित मगध विश्वविद्यालयबाट बि.ए. उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी मिति २०४३ सालदेखि नेपाल दुरसंचार संस्थान दुरसंचार कार्यालय नक्सालमा चौथो तह, टेक्निसियन पदमा सेवा प्रवेश गरी उक्त झुठ्ठा एवं नक्कली बि.ए. को शैक्षिक योग्यताको आधारमा २०७४ सालमा सातौं तहमा बढुवासमेत भई नेपाल दुरसंचार कार्यालय सिमरामा कार्यरत रही सरकारी सुविधा तथा लाभसमेत लिएको अख्तियारको ठहर छ ।
साहको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर भएकोले निज जयनारायण प्रसाद साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई बिहीवार मुद्दा दायर गरिएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !