लोक समाचारदाता
जनकपुरधाम, पुस २९ गते ।
धनुषामा संचालित अवैध क्रसर उद्योग बन्द गर्न जिल्ला समन्वय समिति धनुषाले सरोकारवाला निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
मंगलवार समितिले नेपाल प्रहरी, शसस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय धनुषा सहित सम्बन्धित पालिकालाई मापदण्ड भित्र नपरेका क्रसर उद्योगलाई बन्द गर्न/गराउन पत्राचार गरेको हो ।
विगतका मापदण्ड अनुसार दर्ता भएका र राजश्व समेत बुझाएका तर नविकरण हुन बाँकी र हाल रित नपुगेका क्रसर तथा प्रशोधन उद्योगलाई बन्द गर्न निर्देशन दिने निर्णय सोमवार समितिको बसेको बैठकले गरेको छ ।
जिल्लाको नदीजन्य तथा ढुंगा, गिट्टी, बालुवा, खानीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री समबन्धि अनुगमन तथा समन्वय समेत गर्ने निर्णय गरिएको छ ।
विगतमा दर्ता भएका आन्तरिक राजश्व कार्यालयमा नियमित कर बुझाउँदै आएका तर हालको मापदण्ड अनुसार अन्यत्र सार्नुपर्ने अवस्थाको क्रसर एवं प्रशोधन उद्योगलाई मापदण्ड पुग्ने स्थानमा तुरुन्त सार्न सूचित गरिने र त्यहाँको पदार्थको परिमाण र किसिम खुल्ने गरी लागत राख्न लगाउने निर्णय गरिएको कुरा जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दिपक झाले बताए ।
हालसम्म घरेलु तथा साना उद्योग कार्यालयले दर्ता गरेको नदीजन्य, खानीजन्य बालुवा प्रशोधन तथा क्रसर उद्योगको तथ्यांक समेत यथाशिघ्र जिल्ला समन्वय समितिको कार्यालयमा पेश गर्न निर्देशन समेत दिइएको उहाँले जानकारी दिए ।
घरेलु तथा साना उद्योग कार्यालयलाई जिल्ला अनुगमन समितिको स्थलगत अनुगमन पश्चात मात्रै अब उपरान्त नयाँ क्रसर उद्योग दर्ताको प्रक्रिया अगाडी बढाउन समन्वय समितिले आग्रह समेत गरेको छ ।
गत शुक्रबार पुस २४ गतेका दिन अभियन्ता दिलिप महतोको अवैध उत्खनन कार्य रोक्न गएका बेला चुरियामाई बालुवा गिट्टी प्रशोधन केन्द्र अवैध क्रसर उद्योग संचालक विपिन महतो लगायतका व्यक्तिहरुले निर्ममतापुर्वक हत्या गरेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !