लोक समाचारदाता
जनकपुरधाम, पुस २ गते । गत मंसिर २७ गते मध्यराति धनुषाको महेन्द्रनगरमा भएको शक्तिशाली बम बिस्फोट सुरक्षाकर्मीको लापरवाही रहेको क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले आरोप लगाएका छन् ।
नगरपालिकाको वडा नं. ५ महेन्द्रनगर हनुमान चोकमा आयोजित श्रद्धाञ्जली सभामा बाल्दै नगर प्रमुख पजियारले सुरक्षकर्मीको उपस्थितीमा यस्तो भयानक दुर्घटना हुनु दुःखद भएको र यस घटनामा कही न कही सुरक्षाकर्मीको लापरवाही देखिएको बताए ।
उनले यस्तो प्रकारको घटना आउने दिनमा नहोेस् भनी सुरक्षाकर्मीलाई सतर्कता अपनाउन र दोषीलाई तादरुकताका साथ खोजी गरी कारवाही गर्न माग समेत गरे । नगर प्रमुख पजियारले महेन्द्रनगरमा यस्तो घटनाले सबैमा जुन किसिमको डर पैदा भएको छ त्यो डर आ–आफ्नो मनबाट हटाई काम तर्फ ध्यान दिन आग्रह गर्दै नगरबासीको सुरक्षाको लागि आफु तत्पर रहेको बताए ।
त्यसैगरी औषधी व्यवसायीहरु नेपाल सरकाले शान्ति सुरक्षा प्रदान गर्न नसकी मुकदर्शक एवं निकम्मा भएको र औषधी व्यवसायीहरु आफुलाई असुरक्षित महसुस गरिरहेको आक्रोस पोखे । उनीहरुले उक्त घटना हुनुमा नेपाल सरकारको सुरक्षा निकाय निष्कृय र निकम्मा भएकोले यस दुःखद घटनाको सम्पुर्ण जिम्मेवारी नेपाल सरकाले लिनुपर्नेमा द्विविधा नरहेको उल्लेख गर्दै यस प्रकारको दुःखद घटना पुनः नघटोस लगायतका विभिन्न माग राखी प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाएको जनकारी गराएका थिए ।
ज्ञापनपत्रमा उनीहरुले आफ्नो माग अविलम्ब पुरा नभए औषधि व्यवसायीहरु क्रमबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
श्रद्धाञ्जलीसभामा उपमेयर रचना माथेमा, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पप्पु नायक, उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, हरि प्रसाद पौडेल, औषधी व्यवसायी प्रमोद अग्रवाल, गणेश प्रसाद साह, रामजी साह, सत्यनारायण साहलगायतका वक्ताहरुले श्रद्धाञ्जली दिदैँ दोषीलाई कडाभन्दा कडा करवाहीको माग गरेका छन ।
बम बिस्फोटमा मृत्यु भएका राजेश साह महेन्द्रनगरस्थित निकी मेडिकल हल संचालन गर्दै आएको थिए । उनी औषधी व्यवसायी संघका सदस्य पनि थिए । विस्फोटमा औषधी व्यवसायी साहसहित उनका छोरा आनन्द कुमार साह, नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिर कुमार दाहाल मृत्यु भएको थियो । बिस्फोटमा साहका कान्छो छोरा, छोरी, बुवा र एक प्रहरी जवान पनि घाइते भएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !