प्रशासनको रोकपछि राजदेवी मन्दिर परिसरबाट हटाइएका झुला बारहविघामा सञ्चालन, प्राविधिक जाँच र बीमामै प्रश्नैप्रश्न
जनकपुरधाम । रड भाँचिएर ५६ जना व्यक्तिको ज्यान जोखिममा परेको रोटेपिङ झुला यस वर्ष रामानन्द युवा क्लबद्वारा प्रशासनलाई झुक्याएर लगाइएको छ । गतवर्ष वडा दशैंका बेला नै राजदेवी मन्दिर परिसरमा भएको दुर्घटनालाई लिएर यस पटक सो मन्दिर परिसरमा प्रशासनले लगाउन दिएन ।
तर रमाईलो मेला र मिथिला संस्कृतिको उत्थान भनी इजाजत लिएका रामानन्द युवा क्लबले प्रशासन र सरोकारवाला निकायलाई झुक्याएर ती रोटेपिङ लगायतका आधा दर्जनभन्दा बढी झुला बारहविघा मैदानमा लगाएको छ । बारहविघा मैदानमा आयोजना गरेको मेलामा ठूला झुला सञ्चालन भएपछि प्रशासनको निर्णय, अनुमति प्रक्रिया र सर्वसाधारणको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।
आधा दर्जनभन्दा बढी ठूला झुला राखेर मेला सञ्चालन भइरहँदा तिनको प्राविधिक परीक्षण, सञ्चालन अनुमति, दर्ता तथा बीमासम्बन्धी कागजातको अवस्था के छ भन्नेबारे सम्बन्धित निकायबाट स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।
प्रशासन समेत झुक्याइयो
राजदेवी मन्दिर परिसरमा जोखिमपूर्ण झुला सञ्चालन गर्न रोक लगाउने प्रशासनले बारहविघा मैदानमा त्यस्ता झुला सञ्चालन हुन कसरी अनुमति दियो भन्ने प्रश्न अहिले उठेको छ । स्थान परिवर्तन गर्दैमा झुलाको जोखिम समाप्त हुन्छ ? झुला सञ्चालनका लागि आवश्यक प्राविधिक मापदण्ड पूरा नभएमा त्यसको जिम्मेवारी कसले लिने ? दुर्घटना भए घाइतेको उपचार र पीडित परिवारलाई क्षतिपूर्ति कसले उपलब्ध गराउने ? यी प्रश्नको स्पष्ट जवाफ सम्बन्धित कसैसँग छैन ।
रामानन्द युवा क्लबले रमाइलो मेला आयोजना गर्ने भन्दै जनकपुरधाम उपमहानगरपालिकाबाट अनुमति लिएको छ । त्यस्तै, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बाट मिथिला कला, संस्कृति तथा पर्यटन प्रवद्र्धनका नाममा अनुमति लिएको बताइएको छ । ती अनुमतिका आधारमा जिल्ला प्रशासन कार्यालय धनुषाले पनि मेला सञ्चालनका लागि आदेश दिएको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रशासकीय अधिकृत जितेन्द्र यादवका अनुसार रामानन्द युवा क्लबले बारहविघा मैदानमा मिथिला कला, संस्कृति र खानाको प्रचारप्रसारमार्फत पर्यटन विकास गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गर्न अनुमति मागेको थियो । जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकासँग अनुमति लिएर कसैलाई अवरोध नपुग्ने गरी कार्यक्रम गर्न भनिएको उनले बताएका छन् ।
उपमहानगरपालिकाको राजस्व शाखा प्रमुख प्रमेश झाले पनि पालिकाको नियमानुसार शुल्क लिएर रामानन्द युवा क्लबलाई रमाइलो मेला आयोजना गर्न अनुमति दिइएको बताएका छन् । तर, झुलाको प्राविधिक परीक्षण तथा दुर्घटना भएमा जिम्मेवारी र क्षतिपूर्तिको विषयमा क्लबले नै जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।
यता, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले पनि उपमहानगरपालिका र बृहत्तर क्षेत्र विकास परिषद्को अनुमति लिएर रामानन्द युवा क्लबले मेला सञ्चालनका लागि आदेश माग गरेपछि अनुमति दिइएको बताएका छन् ।
लाखौको व्यापार गर्न तीनवटै निकायलाई झुक्याइएको भनी आलोचना स्थानीयस्तरमा भइरहेको छ । पछिल्लो वर्षहरुको रेकर्ड हेर्दा १० लाखको हाराहारीमा झुलाको ठेक्का दिने गरिएको छ । यी बाहेक अन्य झुला र मनारोञ्जनात्क खेलहरुबाट समेत लाखौ रुपैया छठ अवधिसम्म ठेक्का वापत रकम कमिटी तथा क्लबहरुले असुल्ने गरेका छन् ।
यसपटक राजदेवी मन्दिर परिसरमा रोटेपिङ झुला नलगाइएपनि अन्य झुला र मनारोञ्जनात्मक सहितका मेला आयोजना गरिएको छ । स्थानीय प्रशासनले रोक लगाएपछि यसपटकका लागि बाल मनोराञ्जनात्मक गतिविधिका लािग गुठीले इजाजत प्रजिअको भनाई छ ।
क्बल र कमिटीहरुको काम युवा र समाजलाई जागृत र स्थानीय विकासको टेवामा सहयोग गर्नु हो । तिनीहरुको विधानमा पनि त्यही उल्लेख छ । तर तिनीहरु वर्षभरि यस्ता कुनैपनि गतिविधिमा संलग्न नभई वडा दशैंको बेलामा मेला लगायतका कार्यक्रम मार्फत कमाई गर्न सक्रिय हुन्छन् ।
क्लबको दाबीमा बीमा, कामदारको भनाइमा भारतीय ठेकेदार
रामानन्द युवा क्लबका अध्यक्ष आशुतोष झाले सम्बन्धित निकायबाट विधि र प्रक्रिया पूरा गरेर अनुमति लिई मेला सञ्चालन गरिरहेको दाबी गरेका छन् । उनका अनुसार झुला काठमाडौंको दर्तावाला कम्पनीका हुन् र तिनको बीमासमेत गरिएको छ । तर, झुलामा काम गर्ने कामदारहरूले भने ती झुला भारतको बिहारका पिन्टु नामका ठेकेदारका रहेको बताएका छन् । यसले झुलाको वास्तविक स्वामित्व, सञ्चालन गर्ने कम्पनी, दर्ता र बीमाको वैधताबारे थप स्पष्टता आवश्यक देखाएको छ ।
झुला काठमाडौंको दर्तावाला कम्पनीका हुन् भन्ने क्लब अध्यक्षको दाबी र कामदारले भारतीय ठेकेदारको स्वामित्व रहेको बताएको विषयबीच वास्तविकता के हो ? बीमा गरिएको भनिएको भए बीमालेख कसको नाममा छ, कुन झुलालाई समेटेको छ र दुर्घटनामा कस्तो क्षतिपूर्ति उपलब्ध हुन्छ ? झुला सञ्चालन गर्न खटिएका कामदारको सुरक्षा तथा प्राविधिक दक्षताको परीक्षण भएको छ कि छैन ? यी विषयको सार्वजनिक पुष्टि हुन आवश्यक छ ।
उपमहानगरपालिकाबाट सामान्य शुल्क तिरेर अनुमति लिई ठूलो आर्थिक कारोबार गर्न सकिने अवस्था रहेको भन्दै प्रश्न उठाइएको छ । स्रोतका अनुसार असोज ३० देखि कात्तिक १० गतेसम्म मेला सञ्चालन गर्ने अवधिमा झुलाका ठेकेदारबाट एक लाखदेखि १० लाख रुपैयाँसम्म रकम असुलिएको दाबी गरिएको छ । यद्यपि, उक्त रकमको वास्तविक विवरण, सम्झौता र कारोबारको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
गतवर्ष ५६ जना श्रद्धालुको ज्यान जोखिममा परेको घटना आफैंमा गम्भीर चेतावनी थियो । त्यस्तो घटना दोहोरिएमा मात्र जिम्मेवारी खोज्ने कि दुर्घटना हुनुअघि नै जोखिम नियन्त्रण गर्ने ? जनकपुरधामवासीले सम्बन्धित निकायसँग जवाफ खोजिरहेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !