जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । तदर्थ समितिका सदस्य डा. गंगाधर अधिकारीले अध्यक्ष शर्माको राजीनामा बारे पुष्टि गरेका छन् ।
शुक्रबार दिउँसो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पुगेर शर्माले राजीनामा पत्र बुझाएका हुन् । यसअघि पांच दिनअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले रेडक्रसको सबै तहको निर्वाचन प्रक्रिया तत्काल रोक्न आदेश दिएको थियो । सो आदेशले हालका लागि रेडक्रसको अर्को सूचना नआएसम्म निर्वाचन प्रक्रिया स्थगित हुन गएको छ ।
अधिकारीले भने, हामीबीच सल्लाह भएर नै अध्यक्षज्यू मन्त्रालयमा गएर राजीनामा बुझाउनु भएको हो । एउटा स्वायत्त संस्थामा सरकारले जसोतसो भन्छ त्यही स्वार्थमा हामी चल्न सक्दैनौँ, त्यही भएर उहाँले राजनीमा दिनु भएको हो ।
प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, महिला मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले रेडक्रसको विधानले संघीयताको मर्म आत्मसात् गर्न नसकेको भन्दै शर्मालाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए ।
एमाले–कांग्रेस गठबन्धन सरकारले २०८२ साउन ९ गते शर्माको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति तीन महिनाभित्र नयाँ कार्यसमिति चयन गर्ने भनी गठन भएको थियो ।
अन्तर्राष्ट्रिय रेडक्रस महासंघ जेनेभाले पनि रेडक्रस सुधारका लागि पटक–पटक ध्यानाकर्षण गराउँदै शर्मालाई निलम्बनको चेतावनी दिंदै आएको थियो । शर्माको राजीनामाले हाल नेपाल रेडक्रस नेतृत्वविहीन बनेको छ । कार्यसमिति मध्येबाट तदर्थ समितिको जिम्मेवारी दिने चर्चा चलिरहेको छ ।
शर्मा विगतमा नेपाल रेडक्रस सोसाइटी धनुषाको अध्यक्ष समेत रहिसकेका छन् । धनुषामा रहँदा रेडक्रस अन्तर्गत सञ्चालित आँखा अस्पतालको बेथितीलाई लिएर उनको कार्यकाल विवादित बनेको थियो । आंखा अस्पतालमा मापदण्ड विपरितको गैर कानूनी कार्य गरेको भन्दै असन्तुष्ट कर्मचारीहरुले आँखा अस्पतालमा प्रवेश निषेध नै गरेको थियो ।
विगतमा नेपाल रेडक्रासको गाड़ी आफ्नो निजी घर बनाउनकों लागी काठ बलुवा साथै घरायसी सामाग्री ढुवानीमा प्रयोग गर्दा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरीले सो गाडी नियन्त्रणमा लिएको थियो ।
यति मात्र केही महिनाअघि केन्द्रिय अध्यक्ष रहेको बेलामा आँखा अस्पतालको एक कार्यक्रममा सहभागी हुन धनुषा आएको बेला जिल्ला कार्यसमितिसँग कुनै समन्वय नगरी आंखा अस्पतालविरुद्ध सधैं राजनीति गर्दै आएका व्यक्तिलाई आफ्नो गाडीमा बसाएर कार्यक्रमसम्म पुगेको कुरालाई लिएर उनी धनुषामा आलोचित बनेको बुझिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !