जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बाेल्टसकाे असफल सुरूवात भएकाे छ । कर्णाली याक्ससंग १९ रनले पराजितसंगै जनकपुरले आफ्नाे सुरूवात गरेका हुन । कर्णालीले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्स १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन मात्रै बनाउन सक्यो।
जनकपुरको ब्याटिङमा अभिषेक तिवारीले सर्वाधिक २० रन जोडे। कप्तान हरमीत सिंह र मोइन अलीले समान १९ रन बनाउँदा जिम्मी निशमले १५ तथा मायन यादवले १४ रनको योगदान दिए। अनिलकुमार शाहले ११ रन बनाए। कुशल परेवा ६ रनमा आउट भए भने तृतराज दासले एक रन मात्रै जोड्न सके। आदित्य मेहता खाता नखोली पेभेलियन फर्किए। ललित राजवंशीले एक रन बनाउँदा राहुल यादव एक रनमा अविजित रहे।
कर्णालीको जितमा युनिस ठकुरी र हुसेन तलतले समान तीन विकेट लिए। युनिसले चार ओभरमा एक मेडन राख्दै तीन विकेट हात पारे। उनले एउटै ओभरमा जनकपुरका कप्तान हरमीत सिंह र जिम्मी निशमलाई आउट गरेपछि खेलमा कर्णालीको पकड बलियो बनेको थियो। नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले एक विकेट लिए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३२ रन बनाएको थियो। टोलीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रनको योगदान दिए। उनले २९ बल सामना गर्दै चार चौका प्रहार गरे। पवन सर्राफले ३७ रन जोडे।
कर्णालीको सुरुवात भने राम्रो हुन सकेन। पहिलो ओभरको अन्तिम बलमा मार्क वाट एक रन बनाएर आउट भए। टोलीको स्कोर चार रन हुँदा पहिलो विकेट गुमाएको कर्णालीले थप १४ रन जोड्दा दोस्रो विकेट पनि गुमायो। जनकपुरबाट एनपीएलमा डेब्यु गरेका आइकोनिक खेलाडी राहुल यादवले पहिलो बलमै दीपक डुम्रेलाई १३ रनमा आउट गराएका थिए। कर्णालीले ३७ रन बनाउँदा हुसेन तलत तीन रनमा पेभेलियन फर्किए।
त्यसपछि अरिफुल इस्लाम र पवन सर्राफले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे। अरिफुल २९ बलमा ४३ रन बनाएर आउट भए भने पवनले ३७ बलमा ३७ रन जोडे।
त्यसपछिका ब्याटरले ठूलो योगदान दिन नसक्दा कर्णालीको रन गति अपेक्षाअनुसार बढ्न सकेन। अक्बर अली र सोमपाल कामीले समान एक रन बनाए। गुल्सन झाले १२ रन तथा नन्दन यादवले नौ रन जोडे। युवराज खत्री र युनिस ठकुरी भने नटआउट रहे।
जनकपुरको बलिङमा कप्तान हरमीत सिंहले तीन विकेट लिए। मोइन अली र राहुल यादवले समान दुई विकेट हात पार्दा ललित राजवंशीले एक विकेट लिए।
एनपीएलअन्तर्गत मंगलबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुने तालिका छ।
यसअघि प्रतियोगिताको पहिलो चरणको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गरेको थियो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटिएको थियो।
विराटनगरको लक्ष्य पछ्याउने क्रममा चितवनका बलर कमलसिंह ऐरी प्रभावशाली बने। उनले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए। रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एक–एक विकेट हात पारे। खेलको १८औँ ओभरमा लगातार दुई विकेट लिएका कमलले चितवनलाई जिततर्फ अघि बढाउन निर्णायक भूमिका खेलेका थिए।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !