जनकपुरधाम, फागुन १४ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतोले मेराे जित सुनुश्चित देखेर विपक्षी उम्मेद्वार आतिएकाे बताएकी छिन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट उम्मेदवारी दिएकी महतोले बिहीबार जनकपुरधाम उपमहानगरपालिका–५ मा आयोजित घरदैलो अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै विपक्षीसँग ठोस एजेन्डा नभएकाले आफू जित नजिक पुगेपछि विपक्षी उम्मेदवारहरू भ्रम र अफवाह फैलाउन सक्रिय भएको आरोप लगाएकी छन् ।

उनका अनुसार मतदाताबाट प्राप्त समर्थन, उत्साह र सकारात्मक प्रतिक्रियाले आफ्नो जित सुनिश्चित बन्दै गएको छ। “जब म प्रतिस्पर्धामा अघि बढ्न थालेँ, तब विपक्षी उम्मेदवारहरू आत्तिएर गलत हल्ला फैलाउन थाले,” उनले भनिन्।
महतोले आफू प्रतिनिधिसभा सदस्यका रूपमा बिताएको तीन वर्षको अवधिमा धनुषा–३ का लागि विभिन्न विकास योजना ल्याएको दाबी गरिन्। ती योजनाहरूलाई पूर्णता दिन पुनः अवसर आवश्यक रहेको उल्लेख गर्दै उनले मतदातासँग समर्थनको अपिल गरिन्। “अधुरा योजना सम्पन्न गर्न र क्षेत्रको समग्र विकासलाई निरन्तरता दिन मतदाताले फेरि विश्वास गर्नेमा म विश्वस्त छु,” उनको भनाइ थियो।

एमालेको मुख्य चुनावी एजेन्डा संविधानको रक्षा र राष्ट्रिय स्वाधीनता सुदृढ गर्नु रहेको उल्लेख गर्दै उनले आफ्नो प्रतिबद्धता पनि सोही विषयमा केन्द्रित रहेको बताइन्। साथै जनकपुरधामको विकासमा एमाले नेतृत्वको सरकारले गरेका कामप्रति मतदाता जानकार रहेको र त्यसले आफूलाई थप बल पुगेको उनले दाबी गरिन्।
घरदैलो अभियानका क्रममा बिहीबार धनुषा–३ अन्तर्गत नगराइनलगायत विभिन्न स्थानमा मतदाताले महतोलाई माला तथा दोसल्ला ओढाएर स्वागत गर्दै जितको शुभकामना दिएका थिए।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !